ग्रामीण भेगका किसानलाई धानबाली भित्र्याउने चटारो

0
400

म्याग्दी जिल्लाको ग्रामीण भेगका किसानहरुलाई धानबाली भित्र्याउने  भ्याइनभ्याई सुरु भएको छ । ‘मानो खाएर मुरी उब्जाउने’ समयमा आफ्नो खेतमा रोपको धानबाली भित्र्याउने  चटारोमा किसानहरु लागिपरेका छन् । खेतका गह्राभरी पाकेको पहेंलपुर धानबाली भित्र्याउने काममा किसानहरु व्यस्त देखिएका छन् ।नेपालीहरुको महान् पर्व दशैंको शुरुआतदेखि नै किसानहरुले बाली भित्र्याउने  शुरु गरेका थिए । चाडपर्वसँगै आफूहरु धान काट्ने, उठाउने, कुन्यु लगाउने र दाँई हाल्नेजस्ता काममा व्यस्त भएको किसानहरुले बताएका छन् । यसपाली मौसम अनुकुल भएका कारण बाली भित्र्याउने सजिलो भएको बेनी नगरपालिका–२, ज्यामरुककोटका किसान याम बहादुर कार्कीले बताए ।

‘यसपटक उत्पादन बढ्ने अनुमान गरिएको छ,‘अनुकुल मौषमले राहत मिलेको छ’ कार्कीले भने । उनले गाउँमा उत्पादन भएको धानले बर्षभरी पुग्ने भएपनि खेतबारी बाँझै भएका कारण चामल आयात गर्नुपर्ने अवस्था रहेको बताए । उनले दसैं अगाडीदेखि नै धान काट्न सुरु गरेका कृषकले कात्तिकको अन्तिम सातासम्म सक्ने बताए । असोजदेखि मंसिरसम्मको समय उनीहरुका लागि अत्यन्त व्यस्तताको समय हो ।बाली लगाउने, स्याहारसुसार गर्ने र भिœयाउने बेलामा गाउँगाउँमा अर्मपर्म तथा पालो लगाउने चलनले समेत मंसिर महिनासम्म कृषक खेतबारीमै ब्यस्त हुने गरेको मंगला गाउँपालिका–१ कुहुँ थाईवाङका बलिभद्र गौतमले बताए । ‘समयमै बर्षा र अनुकुल मौषमले कृषक उत्साहित छन्,‘धान भित्राएपछि केहीसमय फुर्सदिला हुन्छन्’ उनले भने ।

जिल्लाको बेनी नगरपालिका, मंगला, मालिकाका अधिकांस खेतीयोग्य जमिनमा धान खेती हुने गरेको छ भने रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको माथिल्लो क्षेत्रमा निकै न्यून धानखेती हुन्छ । हिमाली भेग गूर्जा र लुलाङमा अत्यधिक चिसोका कारण धानखेती हुँदैन ।

म्याग्दीमा गौरिया, गुडुरा, दर्माली, मार्सी, आङा, झिनुवा, ताकमारे, माछापुच्छ«े–३, लुम्ले–२ लगायत लोकल जातका धानहरु रोपिँदै आएको छ । म्याग्दी जिल्लाको कुल खेतीयोग्य जमिनको ३ हजार ८ सय ९७ हेक्टरमा धानखेती हुँदै आएको छ भने ३ हजार ६२ हेक्टरमा गहुँ, २ हजार ७ सय ४० हेक्टरमा कोदो र नौहजार ८ सय ७२ हेक्टरमा मकैखेती हुँदै आएको कृषि ज्ञान केन्द्रका भोज बहादुर थापाले बताए ।

विगतका वर्षको तुलनामा यसवर्ष म्याग्दीमा धान उत्पादनमा कमी आउने कृषि प्राविधिकहरुले अनुमान गरेका छन् । जिल्लामा कुल जनसंख्याको अनुपातमा १२ सय मेट्रिकटन खाद्यबाली आयात गर्ने गरिएको छ । ग्रामिण क्षेत्रका यूवाहरू धमाधम विदेश पलायन, बसाईसराईका कारण खेतीयोग्य जमिन समेत प्रयोगविहिन अवस्थामा रहेकाले पनि सिचाई सहित खेतीका लागि प्रोत्साहन गरे उत्पादनमा बढे बृद्धि गर्न सकिने कृषि कार्यालयको भनाई छ ।