एकिकृत घुम्ती शिविर: गुर्जामा ७८ थान नागरिकता वितरण,बृद्धबृद्धा नागरिकता पाएपछि उत्साहित

0

म्याग्दीको अति विकट गुर्जामा सञ्चालन भएको दुईदिने एकीकृत घुम्ती सेवा शिविरबाट ७८ जनाले नागरिकता पाएका छन् । जिल्ला प्रशासन कार्यालयको प्राविधिक तथा धवलागिरी गाउँपालिकाको समन्वयमा सञ्चालित शिविरमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने करिव १० जना सहित ७८ जनाले नागरिकता पाएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले बेनीअनलाइनलाई जानकारी दिए ।

शिविरमा ७७ बर्षकी उदिकला छन्त्याल,७७ बर्षकै झकप्रसाद छन्त्याल,७३ बर्षिया सस्तिमा विक,७२ बर्षका थमान छन्त्याल,७१ बर्षका खगी छन्त्याल लगाएतले ६० बर्ष उमेर माथिका करिव १५ जनाले नागरिकता पाएपछि उत्साहित भएका थिए ।नागरिकता नभएकै कारण सरकारले प्रदान गर्ने सामाजिक सुरक्षाभत्ताबाट बञ्चित भएकाले नागरिकता पाएपछि आफ्नो परिचय बल्ल पाएको भन्दै धन्यवाद दिएको वडा अध्यक्ष छन्त्यालले बताए ।

सदरमुकाम बेनीबाट करिव २६ कोष टाढा रहेको गुर्जाबासीलाई घरदैलोबाटै सेवा उपलब्ध गराउने लक्ष्य अनुसार शिविरमा जिल्ला प्रशासन कार्यालय सहित नापी, मालपोत, महिला तथा बालबालिका, निर्वाचन कार्यालयले मतदाता सहितको नामावली संकलन सहित जिल्लाको सदरमुकाम बेनीबाटै उपलब्ध हुने सबै सेवाहरु उपलब्ध गराइएको स्थानीय यूवा सोमप्रसाद छन्त्यालले बताए ।

उनका अनुसार नागरिकता संगै नापी र मालपोत कार्यालयको सेवा लिनेको भीड लागेको बताए । भौगोलिक रुपमा विकट, विकास निर्माणमा पछाडी, जिल्लाको नक्सामा लुकेको बस्तीको रुपमा चिनिने गुर्जामा घरदैलोबाटै दिइएको सेवाबाट अपांगता, एकल, दलित तथा कमजोर बर्गका नागरिकले प्रत्यक्ष लाभ पाएका छन् । शिविरमा जग्गा राजिनामा, नामसारी, श्रेस्ता कायम सहित नापी कार्यालयबाट उपलब्ध सम्पूणै सेवासुविधा गाउँमै उपलब्ध गराइएको थियो ।

शिविरमा ७८ नागरिकतको परिचयपत्र, १५० जनाले स्वास्थ्य परिक्षण, नेपाली सेनाको इन्द्रबक्स गुल्मले हेलिप्याड बनाउन आवश्यक जग्गा पहिचान, जिल्ला प्रहरी कार्यालयको सार्वजनिक सुनुवाई कार्यक्रम, महिला तथा बालबालिका कार्यालयबाट १० अपाङ्गता परिचयपत्र वितरण, निर्वाचन कार्यालयकले मतदाता नामावली संकलन लगाएत विभिन्न सरकारी सेवा उपलब्ध गराइएको थियो । शिविरमा प्रतिनिधिसभाका सदस्य भुपेन्द्र बहादुर थापा,जिल्ला समन्वय समितिका प्रम्ुख देबेन्द्र बहादुर कटुवाल र प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बृद्धबृद्धालाई नागरिकता दिदैं शिविरको उद्घाटन गरेका थिए ।

सोही अवसरमा हिमालष्स्नान गृहको समेत उद्घाटन गरिएको थियो । शिविरमा सहायक प्रमुख जिल्ला अधिकारी लिलादेवी अर्याल, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, प्रहरी नायव उपरिक्षक बिर बहादुर बुढामगर,नेपाली कांग्रेसका प्रतिनिधि कमल छन्त्याल लगाएत सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिको उपस्थिती रहेको थियो । यसैबीच आइतबार गाउँपालिकाकै वडा नं २ लुलाङमा शिविर सञ्चालन गरिने छ । चालु आवमा बेनी नगरपालिका बाहेक जिल्लाका सबै पाँचवटै स्थानीय तहका दु्र्गम क्षेत्रमा घुम्ती शिविर सञ्चालन गर्ने योजना रहेको छ ।