१७औं जेसीज कप फुटबल प्रतियोगिता मंसिरमा

????????????????????????????????????

‘जेसीज कप फुटबल, अवसर र सम्मान’ भन्ने मूल नारासहित १७औं अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिता–२०१८ आगामी मंसिरमा हुने भएको छ । म्याग्दी जेसीजको आयोजनामा हरेक वर्ष हुँदै आइरहेको प्रतियोगिता यसवर्ष मंसिरको ११ गतेदेखि १५ गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको हो ।

आइतबार बेनीमा पत्रकार सम्मेलन गरेर १७औं जेसीज कप फुटबल प्रतियोगिताको तयारीका बारेमा जानकारी गराइएको छ। पत्रकार सम्मेलनमा म्याग्दी जेसीजका शाखा अध्यक्ष कमल विश्वकर्माले प्रतियोगिता सफल पार्नका लागि तयारीलाई अगाडि बढाइएको बताउँदै विभिन्न उपसमितिहरु गरिएको जानकारी दिएका छन् । प्रतियोगितामा सहभागिता जनाउन जिल्लाका विभिन्न विद्यालयहरुमा पत्राचार गरिसकिएको म्याग्दी जेसीजले जनाएको छ ।

प्रतियोगिताका प्रवक्ता एवं स्वयंसेवक परिचालन उपसमितिका संयोजक सुजन बरुवालका अनुसार विजेता र उपविजेतालाई क्रमशः नगद ४० हजार र २५ हजार रुपैयाँसहित जेसीज कप, ट्रफी, मेडल तथा प्रमाणपत्रले पुरस्कृत गरिने भएको छ । यसैगरी अनुशासित टिमलाई पाँचहजार ५५५, उत्कृष्ट खेलाडी, डिफेन्डर, प्रशिक्षक, मिडफिल्डर, स्ट्राइकर, गोलरक्षक, सर्वाधिक गोलकर्ता र राईजिङ्ग प्लेयरलाई जनही एकहजार पाँचसय रुपैयाँले पुरस्कृत गरिने प्रवक्ता बरुवालले बताएका छन्। प्रतियोगिता सञ्चालनमा कुल सातलाख ६८ हजार रुपैयाँ बजेट खर्च हुने प्रस्ताव गरिएको छ भने सन्तोष स्मृति अक्षयकोष मुख्य प्रायोजक रहेको छ । प्रतियोगितामा प्रायोजक र सहयोगदाताहरुको खोजी भैरहेको मूल संयोजक विरेन्द्र श्रेष्ठले बताए ।

प्रतियोगितामा नरेश मोबाइल सेन्टर बेनीले ५० हजार रुपैयाँ सहयोग घोषणा गरी सहप्रायोजक बनेको छ भने प्रतियोगितामा खेल्दै गर्दा खेलाडीहरु घाइते भएमा उपचारको लागि शिखर इन्सुरेन्ससँग सहकार्य गरी निःशुल्क बीमा गर्ने निर्णय गरिएको शाखा अध्यक्ष विश्वकर्माको भनाइ छ ।

फुटबल प्रतियोगिताको लागि एकलाख ५० हजार सहयोग गर्नेलाई टाइटल स्पोन्सरको रुपमा प्रतियोगितामा नाम जोडिने बताइएको छ । त्यसैगरी ७५ हजार सहयोग गर्नेलाई प्रायोजक र ५० हजार सहयोग गर्नेलाई सह–प्रायोजक संस्थाको रुपमा सम्मान गरिने आयोजकले बताएको छ । प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्नका लागि विरेन्द्र श्रेष्ठको मूल संयोजकत्वमा उपसमितिहरु गठन गरिएको छ ।

प्रतियोगिताको जुरी संयोजकमा रमेशकुमार श्रेष्ठ, अफिसियलमा विनय श्रेष्ठ, अर्थ संयोजक खम थापामगर, मञ्च व्यवस्थापन शैलेश श्रेष्ठ, खेलमैदान व्यवस्थापन भरतबहादुर रकाल, प्रवक्ता तथा स्वंयसेवक परिचालन सुजन बरुवाल, ध्वनी व्यवस्थापनमा अर्जुन पौडेल, ट्रफी तथा मेडल भीमनाथ शर्मा, प्रचारप्रसारमा भूपेन बानियाँ, प्राथमिक उपचार दिनेश बानियाँ, प्रमाणपत्र र मायाको चिनोमा सन्दीप खत्री रहेका छन् । प्रतियोगिताको सचिवालय व्यवस्थापनतर्फ सुमन बानियाँ, अतिथि सत्कारमा दिनेश बराल, विद्युत व्यवस्थापन हरि भण्डारी, जलपान व्यवस्थापन विष्मा श्रेष्ठ, खेलकुद सामग्री व्यवस्थापन, विक्रम सुवेदी र सहभागी व्यवस्थापनमा नरेश श्रेष्ठ,, सल्लाहकार संयोजकमा विजयकुमार श्रेष्ठ एवं पूर्व अध्यक्षहरु रहेका छन् ।