वर्षौदेखि भोगचलन गर्दै आएको जमिनमाथि आफ्नो स्वामित्व नहुँदा पीडामा गुज्रेका गुर्जाबासीमा खुसीको बहार छाएको छ। म्याग्दीको धवलागिरी गाउँपालिकास्थित गुर्जा गाउँमै पुगेर सरकारी टोलीले जग्गाधनी पुर्जा बाँडेपछि गुर्जाबासीमा खुसी छाएको हो ।

अरुको लालपुर्जा देखेकै भरमा चित्त बुझाउन पर्ने बाध्यताबाट गुर्जाबासी मुक्त भएका छन् । म्याग्दीको सबैभन्दा विकट गाउँका रुपमा चिनिने गुर्जामै पुगेर सरकारी टोलीले जग्गाधनीपूर्जासँगै नागरिकता नहुनेलाई नागरिकता प्रदान गरेको छ । गुर्जामा तीनदिन चलेको सरकारी शिविरबाट ४२ जनाले आफूले भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा पाए ।

धवलागिरी गाउँपालिका र जिल्ला प्रशासन कार्यालयको पहलमा गुर्जामा सरकारी घुम्ती शिविर सञ्चालन भएको थियो । मालपोत कार्यालय र नापी कार्यालयबाट गाउँमै सेवा पाएपछि गुर्जाबासीमा छाएको खुसी अवर्णनीय छ । मालपोत र नापी कार्यालयले शुक्रबार र शनिबार गाउँमै पुगेर सेवा दिएका थिए । मुस्किलले मात्रै निर्वाचित जनप्रतिनिधि र सरकारी निकायका प्रमुख पुग्ने गुर्जामा एकैचोटी थुप्रै सरकारी कर्मचारी र नेतालाई पाउँदा गुर्जाबासीमा बेग्लै खुसी छाएको छ । उनीहरुले नाचगान गरेर सरकारी अधिकारीको स्वागत गरेका थिए ।

यसपटकको शिविरमा गुर्जाका सबैले लालपुर्जा बनाउन पाएनन् । प्रमाणका अभावमा लालपुर्जा बनाउन छुटेकाका लागि फेरि शिविरको आयोजना गर्ने तयारी भइसकेको बताउँछन्, धवलागिरी गाउँपालिकाका प्रवक्ता, झकबहादुर छन्त्याल ।गुर्जा पुगेको सरकारी टोलीले लालपुर्जा मात्रै वितरण गरेन । नागरिकता प्रदान, नामसारी, अंशवण्डा र कित्ताकाट पनि भयो । वर्षौदेखि प्रतीक्षा गरेको सेवा गाउँमै पाउँदा गुर्जाले युद्ध जितेझै अनुभूत गरेका छन् ।

गुर्जाका १५ जना महिलाले भोगचलन गर्दै आएको जमिन आफ्नो नाममा पारेका छन् । यसले गाउँका महिलामा उत्साह बढेको छ । अब पाउन बाँकीले पनि छिटै लालपुर्जा पाउने आश गरेका छन् ।लालपुर्जा नहुँदा गुर्जाबासीले थुप्रै सास्तीको सामना गर्नुपरेको थियो । लालपुर्जा नभएकै कारण स्थानीयबीच पटकपटक जग्गाको विषयलाई लिएर विवाद हुन्थ्यो । आधिकारिक नक्सांकन नभएकाले विवाद सुल्झाउन कठिन हुन्थ्यो ।

जग्गा विवादकै कारण गाउँमा धेरैको आपसमा बोलचाल थिएन । आधिकारिक पुर्जा नहुँदा छिमेकी जिल्ला रुकुम र बाग्लुङसँगको सीमाना विवाद पनि बल्झिरहन्थ्यो । आफ्नो नाममा नहुँदा उनीहरुले अप्ठेरो पर्दा बैंक तथा सरकारीमा धीतो राखेर गर्जो टार्न समेत पाएका थिएनन् । जग्गा बिक्रीवितरण गर्न पाएका थिएनन् । अब भने ती समस्या समाधान हुने अपेक्षा गरेका छन्, गुर्जाबासीले ।

दृश्यमा सुन्दर छ, गुर्जा गाउँ । जति सुन्दर देखिए पनि यो गाउँमा थुप्रैथुप्रै दुख लुकेको छ । अभाव र पीडाभित्र छट्पटाइरहेका छन्, यहाँका नागरिक । यो गाउँसम्म पुग्न पनि निकै कठिन छ । यातायातको पहुँच छैन । अक्करे भीर र घना जंगलले घेरिएको यो गाउँ, म्याग्दी जिल्लाकै सबैभन्दा विकट बस्ती हो । म्याग्दीमा एउटा आहान नै प्रचलित छ कि, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो बस्तीका नागरिकको थुप्रै दुखमध्येको एउटा थियो, यहाँका कसैको नाममा पनि घरजग्गाको लालपूर्जा थिएन । अहिले केही गाउँलेले लालपुर्जा त पाए । तर, अरु दुख उस्तै छ ।

धवलागिरी गाउँपालिका वडा नम्बर एकमा पर्छ, गुर्जा गाउँ । यहाँ २३० घरधुरी छन् । करिब १२ सय जनसङ्ख्या रहेको गुर्जा गाउँ, धवलागिरी गाउँपालिकाको एउटा वडा हो । यहाँका नागरिकले भोगचलन गर्दै आएको जग्गाको लालपूर्जाका लागि थुप्रै प्रयास गरे ।

सदरमुकामबाट दुई दिन पैदल हिँडेर पुग्नपर्ने यो गाउँका नागरिकले धेरै पटक सरोकारवालाई झक्झक्याए । पटक पटकको प्रयासपछि केही गुर्जाबासीले जग्गाधनी लालपुर्जा पाएका छन् । अझै केहीले लालपुर्जा पाउँन बाँकी छ । लालपुर्जा पाउनेहरु खुसी छन् भने बाँकीमा पनि आशा पलाएको छ । सरकारी कार्यालयको सेवा लिन एकदिन पैदल र एकदिन सवारीसाधन प्रयोग गरी सदरमुकाम बेनीमा आउनुपर्ने अवस्थाबीच गाउँमै लालपुर्जा पाउँदा स्थानीयले गाउँपालिका र जिल्ला प्रशासन कार्यालयको टोलीप्रति आभार प्रकट गरेका छन् ।

लालपुर्जाबाहेक पनि गुर्जामा समस्यै समस्या छ । जिल्लाबाट चुनाव जितेका जनप्रतिनिधिले जहिले पनि गुर्जाको समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्छन् । पूर्वाधार विकासदेखि गाउँका सबैलाई लालपुर्जा वितरण गर्न आफू प्रतिवद्ध भएको बताउँछन्, संघीय संसदका सांसद भुपेन्द्रबहादुर थापा ।

समुन्द्री सतहदेखि ३ हजार २ सय २० मिटर उचाइमा अवस्थित गुर्जालाई राज्यले हेपेको अनुभूति हुन्छ । पर्यटन प्रवद्र्धनको प्रचुर सम्भावना बोकेको गुर्जामा पूर्वाधार विकास हुन सकेको छैन । जसकारण यहाँका नागरिकको दैनिकी जर्जर छ ।

गुर्जाबासीको समस्या समाधान गर्न जिल्ला प्रशासन कार्यालयले पनि अहिले केही चासो देखाएको बुझ्न सकिन्छ । लालपुर्जालगायत अन्य सरकारी सेवा सुविधाका लागि फेरि सरकारी घुम्ती शिविर आयोजना गर्ने म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको प्रतिक्रिया छ ।गुर्जा गाउँको बेग्लै विशेषता छ । छन्त्यालहरुको बाहुल्य रहेको गुर्जा पर्यटकीय हिसाबमा निकै महत्वपूर्ण गन्तव्य हो । छन्त्याल समुदायको जीवन, सभ्यता र संस्कृति हेर्ने आँखीझ्यालका रुपमा चित्रित छ, यो गाउँ ।

गुर्जा गाउँ छन्त्याल जातिको सबैभन्दा ठूलो बस्ती पनि हो । गुजुमुज्ज परेका परम्परागत शैलीका घर, मौलिक संस्कृति अनि सोझा, सरल र मिजासिला छन्त्यालहरूको बस्ती । साँच्चै, दृश्यमा जति सुन्दर भए पनि यहाँ पीडाको पहाड नै खडा छ भन्दा फरक पर्दैन ।मूलतः आफूले वर्षौदेखि भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा पाउने सपना त पूरा भएको छ । तर यसबाहेक पनि यहाँ थुप्रै समस्या छ । राजधानीमा समृद्धिको ठूलाठूला भाषणबाजी भइरहँदा गुर्जाबासीले भोग्नुपरेको पीडा दर्दनाक छ । गुर्जाबासीलाई जग्गाधनी पुर्जा दिएसँगै यहाँ भौतिक पूर्वाधार विकास गर्न सके गुर्जाको समृद्धि टाढा छैन ।