नेपालकै अग्लो शिव–पार्वतीको मूर्ति बनाइने

पर्वतको सदरमुकाम कुश्मा बजारमा नेपालकै अग्लो शिव–पार्वतीको मूर्ति बनाउन रकम सङ्कलन शुरु भएको छ ।गुप्तेश्वर गुफालाई केन्द्रमा राखेर कुश्मामा ऐतिहासिक धार्मिक विराट गुप्तेश्वर मेला एवं कोटी होमको आयोजना गरी शिव पार्वतीको मूर्ति निर्माण गरिने भएको हो । सो मूर्ति न्यूनतम् ५१ फिट अग्लो बनाइने प्रारम्भिक विवरणमा उल्लेख छ । थप अध्ययन गरेर एशियाकै लामो हुने गरी मूर्ति बनाइने मेला आयोजक समितिले जनाएको छ ।

मूल समिति निर्माणसँगै हालसम्म रु २८ लाख जुटिसकेको छ । मूर्ति निर्माणका लागि १५१ जनालाई संस्थापक बनाइने आयोजकले जनाएको छ ।आगामी २०७६ जेठ १ देखि ११ गतेसम्म धार्मिक विराट गुप्तेश्वर मेला एवं कोटी होम आयोजना गरिने छ भने त्यसपछि आगामी वर्ष पनि धार्मिक मेला सञ्चालन गरिनेछ ।मूर्ति निर्माणका हालसम्म नै २८ जना स्थानीयवासीले रु एक–एक लाख दान बोलिसक्नुभएको भेला आयोजक समितिका अध्यक्ष केदारनाथ शर्माले जानकारी दिए।