धवलागिरी गाउँपालिका–२ लुलाङमा सञ्चालि एकिकृत घुम्ती शिविरमा ८० जनालाई नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय र गाउँपालिकाको संयुक्त आयोजनामा आइतबार सम्पन्न भएको शिविरमा सदरमुकाम बेनीमा रहेका सरकारी कार्यालयले उपलब्ध गराउने सबै प्रकारको सेवा सहित पुगेको टोलीलाई स्थानीयले भब्य स्वागत गरेका थिए।

गाउँमा रहेको लमसुङ माविमा सञ्चालित शिविरमा ११ जनालाई अपाङ्ता परिचय पत्र, ७९ जनाले फोटो सहितको नामावली सङ्कलन, १०५ जनाले स्वास्थ्य परिक्षण सहित शिविरमा उपलब्ध सेवा लिएको स्थानीय ओमप्रसाद रसाईलीले बताए । उनका अनुसार विपन्नता, पारिवारिक समस्या लगाएत विभिन्न कारणले सदरमुकाम बेनीमा पुगेर समेत सेवा लिन नसकेका लुलाङका विभिन्न बस्तीबाट सेवाग्राही शिविरमा आएका थिए । शिविरमा बालबालिका देखि बृद्धबृद्धाको भीड लागेको थियो।

शिविरमा प्रतिनिधिसभाका सदस्य भुपेन्द्र बहादुर थापा, प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, जिसस प्रमुख देबेन्द्र कटुवाल, गाउँपालिका अध्यक्ष थमसरा पुन, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, प्रहरी नायव उपरिक्षक बीर बहादुर बुढामगर, सहायक प्रमुख जिल्ला अधिकारी लिलादेवी अर्याल, वडा अध्यक्ष गमप्रसाद विश्वकर्माले ७६ बर्षिया दिलमति पाइजालाई नागरिकता प्रदान गरेका थिए । जिल्लाकै विकट बस्तीमा पर्ने लुलाङबासीले गाउँमा खानेपानी, विद्युतको समस्याका बारेमा जानकारी गराएका थिए ।

गाउँको लघुजलविद्युत आयोजना पहिरोले पुरिएपछि दुईबर्ष देखि अन्धकार बनेको लुलाङमा नयाँ विद्युतगृहमा प्रयाप्त बजेट नहुदाँ समस्या भइरहेको वडा अध्यक्ष विश्वकर्माले जानकारी गराएका थिए । जिल्ला प्रशासन कार्यालयले जिल्लाका विकट बस्तीका जनतालाई घरदैलोमै पुगेर सेवा दिने उदेश्यले चालु आवमा गाउँपालिकास्तरमा पुगेर सेवा उपलब्ध गराइने छ । दुर्गमबस्तीमै पुगेर सेवा दिन थालेपछि गाउँले समेत उत्साहित भएका छन् ।