बाढीपहिरोले विद्यालय भवन बगाएपछि कक्षा कोठाको अभावका कारण भुइँमै बसेर पढ्न बाध्य म्याग्दीका दुई सामुदायिक विद्यालयलाई जापानमा रहेका म्याग्देलीले देउसीभैलो मार्फत ५ लाखभन्दा बढी आर्थिक जुटाएका छन् ।

नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको शुभकामना आदानप्रदान सहित देसीभैलो मार्फत रघुगंगा गाउँपालिका ८ कुईनेमंगलेको रितुङ्ग मावि र अन्नपूर्ण गाउँपालिका–४नारच्याङ कोप्चेपानीको धौलागिरी आधारभुत विद्यालयको भवन पुननिर्माण गरी पठनपाठन सहज बनाउने उदेश्यले मोना जापानले आयोजना गरेका देउसीभैलो कार्यक्रममा ५ लाख १५ हजार सहयोग सङ्कलन भएको महासचिव गणेश श्रेष्ठले बताए ।

देउसीभैलो तथा च्यारेटी कार्यक्रमको उद्घाटन गदैं मोना आइसीका एसिया प्यासिफिक संयोजक ददिवल खड्का, उपसंयोजक तारा कार्की,मोना आइसीका कोषाध्यक्ष राम खड्का, गल्कोट समाज बागलुङका निर्वतनमान अध्यक्ष नर बहादुर थापा, लोकदोहोरी प्रतिस्थान जापान शाखाकी उपाध्यक्ष सुर्य खड्का, थेसस समाज जापानका अध्यक्ष बुद्धी गौचन, सिनेकुबो ब्यवसायी संघका अध्यक्ष विजय थकाली, पूर्व राष्ट्रिय फुटबल खेलाडी बसन्त गौचन, मोना आइसीका मिडिया संयोजक तिलक मल्ल, मोना जापानका सल्लाहकार गम जुग्जाली, पूर्व अध्यक्ष महेन्द्र खड्का लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा मोना जापानका अध्यक्ष दिपक कार्कीले प्राकृतिक विपत्तीले विद्यालयको भवन विस्थापित भएपछि बालबालिकामा परेको असरलाई मध्यनजर गरी सहयोग संकलन गरिएको बताए । उनले सहयोगदातालाई धन्यवाद दिदैं सहयोगको सदुपयोग गर्न सम्बन्धित विद्यालयलाई समेत अनुरोध गरेका छन् । उनले सहयोगले विद्यार्थीको पठनपाठनमा सहज हुने बताए ।