हिंसापीडित महिला तथा बालबालिकाको नाममा यूकेमा खेलियो देउसीभैलो

म्याग्दीका महिला तथा बालबालिकाको सहयोगार्थ म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूकेले सञ्चालन गरेको देउसीभैलो कार्यक्रमबाट करिव १३ लाख सङ्कलन गरेको छ । असाहय तथा हिंसामा परेका महिला तथा बालबालिकाको संरक्षणका साथै महिला सशक्तीकरण, लैङ्गिक तथा बाल अधिकार प्रर्वधनलाई लक्षित गरी प्रवासी म्याग्देलीको साझा संस्था मोना अन्तराष्ट्रिय कार्यकारी समितिले सुरु गरेको १ करोडको अक्षय कोष स्थापनाको अभियानमा यूकेमा आयोजित सांस्कृतिक कार्यक्रममा १२ लाख ९० हजार २७९ रुपैयाँ सङ्कलन भएको मोना यूकेका अध्यक्ष कमल बहादुर पुर्जाले बताए ।

मोना अन्तराष्ट्रियका अध्यक्ष चक्र बहादुर थापा, प्रमुख संरक्षक योगेन क्षेत्री,उपाध्यक्ष योग कुमार फगामी लगाएत यूकेमा रहेका म्याग्देलीको उपस्थिती रहेको कार्यक्रममा कलाकारले देउसीमार्फत कलाकारले सहयोग जुटाएका थिए ।हालसम्म १ करोडको अक्षय कोषले स्थापनाको अभियानमा झन्डै ८० लाख सङ्कलन भएको मोनाका उपाध्यक्ष एवम् एनआरएनए यूकेका अध्यक्ष योग कुमार फगामीले बताए ।

हिंसामा परेकालाई समाजमा पुर्नस्थापना सहित महिलाको क्षमता विकास, बालबालिकालाई आवश्यकता अनुसार सहयोगमा कोषलाई परिचालन गरिने छ । कोषले सुचना केन्द्रको स्थापना, अतिविपन्नलाई शैक्षिक तथा उपचारमा सहयोग, अभिभावक विहिन किशोरीलाई आत्मनिर्भर बनाउने सीप हस्तान्तरण सहित जिल्लामा रहेका बालबालिका सम्बन्धित सरकारी तथा गैरसरकारी संस्थासंग समन्वय तथा वडास्तरमा क्लवको गठन लगाएत दर्जनौ योजना समेत बनाएको मोना आइसीका अध्यक्ष चक्र बहादुर थापाले बताए ।उनका अनुसार कार्यदलले संस्थागत संरक्षकलाई १ लाख, ब्यक्तिगत संरक्षक ५० हजार, आजिवन सदस्य १० हजार रुपैयाँ लिने जनाएको छ ।