मृगौला पीडित छन्त्याललाई मोना स्पेनको सहयोग

दुवै मृगौला खरावी भएपछि उपचार गराइरहेका म्याग्दीका मंगला गाउँपालिका–५ नेटाका मृगौला पीडित १९ वर्षीय सुरेश छन्त्याललाई मोना स्पेनले करिव ४८ हजार आर्थिक सहयोग गरेको छ । स्पेनमा रहेका म्याग्देलीको पहलमा पीडित छन्त्याललाई ४७ हजार ३८२ रुपैयाँ आर्थिक सहयोग सङ्कलन गरिएको हो । स्पेनमा रहेका दरवाङ दिच्यामका तपन रोका, खगेन्द्र बुढाथोकी,लक्ष्मण खत्री,चन्द्र शाही, दिल बहादुर नेपाली र पदम पुनले सहयोग जुटाएका थिए ।

सहयोग रकम समाजसेवी रुपप्रसाद पुन, मोना स्पेनका पदम पुनले परोपकारी संस्था ओमकुमारी शान्ति कोषका कोषाध्यक्ष खम थापा मगरलाई हस्तान्तरण गरेका थिए । मृगौलाले काम नगरेको जानकारी पाएलगत्तै स्वदेश तथा विदेशबाट प्राप्त सहयोगले उपचारमा सहज भएको बताइएको थियो । पीडित छन्त्यालको उपचारको प्रक्रियामा समेत ओमकुमारी शान्ति कोषले नेतृत्व गरेको छ । आर्थिक अभावले उपचारमा समस्या भएपछि सुरेश बचाउ अभियानमा कोरियामा रहेका म्याग्देली सहित विभिन्न जिल्लाबाट रोजगारको सिलसिलामा पुगेका नेपालीले सहयोग गरेका थिए । हाल काठमाण्डौको टिचिङ अस्पताल काठमाण्डौंमा उपचार गराइ रहेका १९ वर्षिय छन्त्यालको मृगौला प्रत्यारोपणको तयारी भइरहेको छ ।