ओमकुमारी शान्ति कोषलाई मोना कतारको ५५ हजार सहयोग

म्याग्दी जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई कतारमा रहेका म्याग्देलीले ५५ हजार आर्थिक सहयोग गरेका छन् । जिल्लामा आर्थिक विपन्नताका कारण उपचारमा आर्थिक समस्या झेलेका सर्वसाधारणको उपचारमा आर्थिक सहयोग गदैं आइरहेको कोषको आजिवन सदस्यता मार्फत संकलन गरिएको आर्थिक मंगलबार एक कार्यक्रम गरी हस्तान्तरण गरिएको छ ।

मोना कतारका पूर्व अध्यक्ष एवम् मोना अन्तराष्ट्रियका सचिव विक्रम कार्कीले कोषका अध्यक्ष राजेश शाक्यलाई ५५ हजार ५ सय ४० रुपैयाँ हस्तान्तरण गरेका थिए । कोषको संरक्षक सदस्य समेत रहेको मोना कतारले आजिवन सदस्यता सहित विभिन्न कार्यक्रममार्फत भविस्यमा समेत थप सहयोग गर्ने प्रतिबद्धता जनाएको कोषका अध्यक्ष शाक्यले बताए । ‘गरिबीकै कारण उपचारमा आर्थिक समस्या भएर मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्न सकिन्छ भन्ने सन्देश प्रवाह भएको छ,‘ १ सय जनाको उपचारमा सहयोग गरिसकेका छौ’ उनले भने ।

कोषले म्याग्दी जिल्लामा आर्थिक अभावकै कारण उपचारमा समस्या देखिएका म्याग्देलीको उपचारलाई सहज बनाउन विश्वभर रहेका म्याग्देलीलाई अभियानमा जुट्न अपिल समेत गरेको छ । कार्यक्रममा सहयोग हस्तान्तरण गदैं मोना कतारका संरक्षक समेत रहेका कार्कीले कोषलाई ब्यक्तिगत तथा संस्थागत रुपमै थप सहयोग गरिने बताए ।

१ करोड ५० लाखको अक्षय कोष स्थापना गरी त्यसबाट नियमित सहयोग गर्न सहज हुने कोषले जनाएको छ । बेनी नगरपालिका–४ की ओमकुमारी शान्ती पुन हाईपोपलास्टिक एनिमिया रोगबाट पीडित भएपछि उपचारमा सहयोग जुटाउन सुरू भएको अभियानको क्रममा निधन भएपछि ओमकुमारीको नाममा स्थापना गरिएको कोषले आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका म्याग्देलीको उपचारमा आर्थिक जुटाइरहेको छ । प्रतिब्यक्ति १० हजार देखी ३० लाखसम्म कोषमार्फत उपचारमा सहयोग जुटेको छ ।

कोषमार्फत ब्लड क्यान्सर, मुटु, मृगौला, हाडजोर्नी, आँखा, नशा लगाएत विभिन्न किसिमका रोगको उपचारमा भइरहेको छ । जिल्लाको एकमात्रै परोपकारी संस्थाको रुपमा समेत आफ्नो पहिचान बनाउन सफल भएको छ ।गरिव तथा विपन्नबर्गको उपचारका साथै भुकम्प, बाढीपहिरो पिडितलाई समेत आर्थिक जुटाउने गरेको छ ।

कोषका अभियानमा जन्मदिन, विवाह, बर्तबन्ध, आफन्तको सम्झना लगाएत विभिन्न कार्यहरूमा समेत सहयोग उपलब्ध हुने गरेको छ । संस्थाको विधानमा ब्यक्तिगत २ लाख र संस्थागत ३ लाख सहयोग गर्नेलाई संरक्षक घोषणा गर्ने प्रावधान रहेको छ । संस्थाका अध्यक्षले हरेक विरामीलाई ब्यक्तिगत रुपमा ५ हजारदेखी माथि सहयोग गदैं आइरहेका छन भने संस्थागत गतिविधिका हरेक खर्च समेत ब्यक्तिगत ब्यर्होर्ने गरेका छन् । कोषमार्फत सामाजिक तथा परोपकारी क्षेत्रका काम गरेवापत सम्मानित समेत हुने गरेको छ ।