चाडपर्वमा मात्रै एक अर्व रेमिटेन्स भित्रियो

दसैंतिहारलाई लक्षित गरेर म्याग्दीबाट रोजगारका लागि विभिन्न देशबाट दसैंतिहारको खर्च स्वरुप एक अर्व भन्दा बढी रेमिटेन्स भित्रिएको छ। विगतका बर्षको तुलनामा चाडपर्वमा लक्षित शिक्षा, रोजगार, ब्यापारको सिलसिलामा बैदेशिक रोजगारमा गएकाले घरायसी तथा अन्य प्रयोजनमा खर्च गर्ने गरी दुई महिनाको अवधिमा एक अर्व २० करोडको हाराहारीमा रकम पठाएको म्याग्दीका सेवाप्रदायक संस्थाले जनाएको छ ।

जिल्ला सदरमुकाम बेनीबजार तथा ग्रामिण क्षेत्रमा शाखा विस्तार गरेका बैंक तथा वित्तिय संस्थाले दिएको जानकारी अनुसार कात्तिक महिनाको पहिलो सातासम्मको तथ्याङ्क अनुसार दसैंमा मात्रै करिव १ अर्व भित्रिएको छ । जिल्लामा भित्रिएको रेमिटेन्सको ठु्लो हिस्सा चाडपर्वमा घरखर्च, लत्ताकपडा सहित अनुत्पादक क्षेत्रमा खर्च हुने गरेको छ ।

सहकारी तथा ठुला वित्तिय संस्थाले सदरमुकाम बेनीबजारसहित पश्चिम म्याग्दीको बाबियाचौर, दरबाङ, ताकम क्षेत्रबाट धेरै रेमिटेन्स भुक्तानी भएको देखिन्छ । दसैमा बजार क्षेत्रमा अत्याधिक भिडभाड भएपनि तिहारमा नभएकाले त्यसको असर रेमिट्न्समा देखिएको गरिमा विकास बैंक म्याग्दी शाखा प्रवन्धक कमलप्रसाद ढुंगानाले बताए ।

म्याग्दीमा चारवटा शाखा रहेको गरिमा विकास बैंकको बेनी शाखाबाट १६ करोड, पश्चिम म्याग्दीको बावियाचौर शाखा ३ करोड, दरवाङ शाखा ७ करोड र उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर २ करोड कारोबार गरिएको बताए । दैनिक एक करोडसम्म रेमिटेन्स वितरण गरेका छन् । त्यस्तै बेनीमा रहेको धौलागिरि बचत तथा ऋण सहकारी संस्था २० करोड, पश्चिम दरबाङ बचत तथा ऋण सहकारी संस्था लि २५ करोड वितरण गरेको प्रवन्धक बसन्त कुमार श्रेष्ठले बताए । प्रभु बैकका पाँचवटै स्थानीय तहमा रहेका शाखाबाट १० करोड वितरण गरेको छ । प्रभुको बैंकको शाखाभन्दा रेमिट सेवाबाट कराडौ भित्रिन्छ ।

सदरमुकाम बेनीमा बुद्ध सहकारी, बेनीबचत, मुक्तिनाथ, रिहगाद, लोकदिप सहकारी संस्था सहित करिव एकदर्जन सहकारीले चार करोड रुपैयाँको हाराहारीमा रेमिटेन्स भुक्तानी गरेको सम्बन्धित वित्तीय संस्थाले जनाएका छन् । ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे, कैलाश विकास बैंक, बीओके, सिटिजन्स, ग्रिन डेलपभमेन्ट जस्ता राष्ट्रियस्तरका वाणिज्य बैंकका शाखा पनि करोडको हाराहारीमा रेमिटेन्स भुक्तानी गरेका छन् । जिल्लाका ५ वटा गाउँपालिकाका गाउँगाउँमा सहकारी भएकाले पनि दुर्गमका जनताले सहकारीबाटै लिने गरेका छन् । ५० लाख रुपैयाँ रेमिटेन्स भुक्तानी सहकारीको संख्या १५ भन्दा बढी देखिएको छ ।

‘तिहारपछि भुक्तान गरेको करिव १० प्रतिशत मात्रै फर्कन्छ,‘चाँडपर्वमा भड्किलो शैली अपनाउन थालिएकाले पनि खर्च बढेको छ’ पश्चिम दरवाङ सहकारीका प्रवन्धक सदन कँडेलले भने । करिव ७० प्रतिशत रकम खाडी मुलुकबाट मात्रै भित्रिने गरेको छ । कतार, साउदी, दुवै, दक्षिण कोरिया, जापान, भारत, मलेसिया लगाएत विभिन्न विकशित मुलुकबाट रकम भित्रिने गरेको छ ।

रेमिटेन्सबाट आएको रकम अपभोग र विलासिताका सामान खरिद र बालबालिकाको शिक्षादिक्षामा धेरै खर्च हुने गरेकाले पनि उत्पादनशिल क्षेत्रमा निकै न्यून लगानी हुने गरेको वित्तिय क्षेत्रका जानकार बताउँछन् । जिल्लामा निर्यातभन्दा आयात बढी भएकाले पनि जिल्लामा बार्षिक ४ अर्वको हाराहारीमा रेमिटेन्स भित्रिने गरेको भएपनि विभिन्न माध्यमबाट बाहिरिने गरेको छ। म्याग्दीको प्रमुख आयस्रोत नै रेमिस्ट्यान्स रहेको छ । पछिल्लो समयमा रेमिट्न्यासबाट आएको रकमजिल्लाको विकासमा समेत लागानी गर्न थालीएको छ । म्याग्दीबाट करिव ३० हजारभन्दा धेरै बैदेशिक रोजगारीमा छन् ।,