म्याग्दी कोरलाको बेनी–काठमाण्डौ रुटमा भिआइपी बस सेवा सुरू(भिडियो)

म्याग्दीबाट सेवा दिइरहेको म्याग्दी केरला मुभर्स एण्ड ट्राभल्स् कम्पनीले अत्याधुनिक सुविधायुक्त अति विशिष्ट भिआइपी बस सेवा सुरू गरेको छ । म्याग्दी जिल्लाबाट काठमाण्डौ आवतजावत गर्ने यात्रु र पर्यटकलाई लक्षित गरी बुधबारदेखी दुईवटा बस म्याग्दी–काठमाण्डौ रुटमा सञ्चालन गरेको हो ।हवाईजहाजमा जस्तै ‘मिनीबार, शौचालय, निशुल्क वाइफाई, खानेपानी, टिभी,वास बेसिन, फोल्डिङ सिट सहित यात्रुलाई निशुल्क चिया, नास्तासहितको सेवा रहेका कम्पनीका अध्यक्ष सुरत केसीले बताए ।

‘यात्रुलाई सुविधैसुविधा छन्,‘यात्रुलाई सुतेरै यात्रा गर्न मिल्ने सिट छ’ केसीले बेनीअनलाइनलाई भने ।उनले कम्पनी मार्फत म्याग्दी–काठमाण्डौ रुटमा सञ्चालित दुईवटा बसमा यात्रुले गरेका गुनासोलाई मध्यनजर गरी सेवा थप गरिएका बताए ।उनले गण्डकी प्रदेशमा काठमाण्डौ–पोखरा रुटमा भिआइपी बस सेवा भएपनि पोखरा बाहेक म्याग्दीमा मात्रै रहेको दावी गरे । एउटा बसको मूल्य करिव १ करोड ३० लाख परेको अध्यक्ष केसीको भनाई छ । बसको सिट समेत ठुलो छ।

यात्रुको सुविधालाई मध्यनजर गरी ‘बस क्रियू’ को ब्यवस्था गरिएको छ ।एकजना सहयोगीले यात्रा अवधिभर पानी, चिया, नास्ताका साथै सेवा प्रयोगमा समस्या देखिएमा तत्काल सहयोग गर्ने गरी अन्तिम सिट नजिक सहयोगी कक्ष समेत राखिएको छ ।यात्रुले शौचालय प्रयोग गर्नु अगाडी बाहिर रहेको संकेतका लागि बटन राखिएको छ । प्रत्येक सिट नजिक गर्मी मौसममा फन राखिएको छ ।२१ सिट क्षमता अनुसार नै यात्रुलाई बोक्ने प्रालिका सञ्चालक मोहन केसीले बताए ।

उनले सिटलाई यात्रुले खुट्टालाई पनि आरामसंगै राख्न सक्ने र एउटा यात्रुको सिटले अर्कोलाई नछुने गरी निर्माण गरिएका बताए । बसको भाडा निर्धारणको तयारी भइरहेको प्रालिले जनाएको छ । बसले यात्रुको सामानको भाडा नलिई निशुल्क सुविधा रहेको छ । ८ करोडको लगानीमा १० वटा बस सञ्चालनमा रहेका छन् । कम्पनीले म्याग्दी, मुस्ताङबाट काठमाण्डौ जाने यात्रुलाई लक्षित गरी एयर कन्डिसन एसी युक्त आरामदायी सुपर डिलक्सको सेवामार्फत म्याग्दीभित्रकै कच्ची सडकका साथै छिमेकी जिल्ला मुस्ताङको जोमसोममा समेत बस सेवा सञ्चालन भइरहेको छ ।

गतबर्षको चैत्र महिनाबाट सेवा सुरु गरेको म्याग्दी कोरालाका बसले बेनी– काठमाण्डौ, बेनी–पोखरा, मुस्ताङका साथै रिर्जभमा समेत सेवा दिइरहेको छ । यातायातको क्षेत्रमै अनुभव भएकाहरूको लगानीमा कम्पनी स्थापना भएकाले पनि प्राविधिक पक्षलाई ब्यवस्थापन गर्न सहज भएको सञ्चालक नगेन्द्र केसीले बताए । बेनी–जोमसोम सडक सञ्जालको स्तरउन्नतीलगत्तै छिमेकी राष्ट्र चीन र भारत जोड्ने अन्तरदेशीय बेनी–जोमसोम–कोरला सडक अन्र्तरगत कोरलासम्म आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा दिने कम्पनीको योजना छ ।