बेनी नगरपालिकाको काम, सडकमै फोहोरको जाम(भिडियो)

म्याग्दीको सदरमुकाम तथा आसपासका क्षेत्रमा संकलन भएको फोहोर बेनी नगरपालिकाले सडकमै फाल्दा दुर्गन्ध फैलिएको छ ।बेनीबजार, गलेश्वर तथा आसपासका क्षेत्रमा संकलन भएको फोहोरलाई बेनी–गलेश्वर सडकखण्ड अन्तरगत रातोपहिरोमा सडक नजिकै फाल्ने गरिएको छ ।फोहोर सङ्कलन गरी सडक आसपासमै जलाउँदा आसपासका बस्तीमा समेत दुर्गन्ध फैलिएको छ ।

Video link: बेनी नगरपालिकाको काम, सडकमै फोहोरको जाम

सडक किरानमै फोहोर जलाउँदा उत्तरी म्याग्दीका साथै मुस्ताङ आवतजावत गर्ने आन्तरिक तथा बाह्य पर्यटकले दैनिक गुनासो गर्ने गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्ध बहादुर केसीले बताए । ‘सडकको माथिल्लो भागमा पनि फोहोर फालिएको छ,‘फोहोरले जिल्लाको नकरात्मक सन्देश प्रवाह भएको छ’ केसीले बेनीअनलाइनलाई भने ।उनले कुहिने र नकुहिने फोहोर छुट्याएर जलाउनु पर्नेमा एकै ठाउँमा ट्याक्टरबाट ल्याएर फाल्ने गरिएको छ । बजार क्षेत्रबाट दुर्गन्ध फैलिने फोहोरलाई सडकमै फाल्दा सवारीसाधन दुर्घटनाको समेत सम्भावना बढेको छ ।

रातोपहिरोमा फोहोर ब्यवस्थापनमा स्थानीयले पटकपटक विरोध समेत गरेका थिए । यता बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले आफ्नो कार्यकालमा सबैभन्दा प्राथमिकतामा परेको योजना डम्पिङ साइट भएपनि विभिन्न अवरोधले सफल हुन नसकेको बताए ।

‘मैले धेरै ठाउँमा सहमतिमै खोजिसकेका थिए,‘विरोधको नाममा विरोध भएर रोकियो’श्रेष्ठले भने । उनका अनुसार फोहोर ब्यवस्थापनमा नगरपालिकाकाके कर्मचारीको समेत लापरवाही भएको बताए । उनले फोहोर संकलन गरी उचित ब्यवस्थापन गर्न पटकपटक निर्देशन दिदाँ समेत बेवास्ता भएको बताउँदै रातोपानीमै करिव ४४ लाखको लागतमा संरचनाको अन्तिम चरणमा रहेको बताउँदै केहीमहिनामा समस्याको दिर्घकालिन समाधान हुने बताए ।

उनले बस्तीबाट धेरै टाढा दिर्घकालिन संरचना सहितको पूर्वाधार विस्तारको योजना बनाएपनि विरोध भएपछि आफुँले पुरानौ ठाउँमा ब्यवस्थिती संरचना बनाउन सक्रियता देखाएको बताए । बढ्दो बजारीकरणसंगै एकदशक फोहोर रातोपहिरोबाट कालिगण्डकी नदीमा फाल्ने गरिएको छ ।हिन्दु धर्मालम्बीहरूले स्नान गर्ने कालिगण्डमा फाल्ने गरिएको फोहोरलाई डम्पिङ साईड बनाउन चारबर्ष यता लगातार बजेट प्राप्त भएपनि प्रयोगमा आएको थिएन् ।

नगरक्षेत्र सफा र सुन्दर बनाउने अभियान सञ्चालन गर्ने घोषणा गदैं आएको नगरपालिकाले नै मनपरी फोहोर फाल्न थालेपछि चर्को विरोध भइरेको छ । सडक तथा बस्ती आसपासमा ब्यवस्थापन गरिएको फोहोरबाट मानव स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले ब्यवस्थापन आवश्यक रहेको बेनी अस्पतालका डा.नवराज बस्ताकोटीले बताए । ‘अस्थायी रुपमा ब्यवस्थापन गरिएको फोहोर पानीमा मिसिदा प्रदुषित हुन्छ । बजार क्षेत्रमा प्रदुषित पानी चुनौती बन्न सक्छ’ डा. बस्ताकोटीले भने । बेनीबजारमा दैनिक ५ देखि ७ ट्रयाक्टर सम्म फोहोर संकलन हुने गरेको छ ।