देउसीभैलो खेलेर दिपशिखा माविलाई ४ लाख ५५ हजार संकलन

शैक्षिक तथा भौतिक पूर्वाधार विस्तारमा आर्थिक अभाव भएपछि मंगला गाउँपालिका–१ कुहुँको दिपशिखा माविले देउसीभैलो खेलेर ४ लाख ५५ हजार सङ्कलन गरेको छ । निजी स्रोतबाट शिक्षक कर्मचारीको तलब ब्यवस्थापन, भौतिक संरचना निर्माणमा सरकारी निकायबाट प्रयाप्त बजेट विनियोजन नभएपछि विद्यालयले सेवाक्षेत्र भित्र सञ्चालन गरेको देउसीभैलो कार्यक्रमबाट उक्त रकम संकलन भएको विद्यालयका प्रधानध्यापक नन्द बहदुर खत्रीले बेनीअनलाइनलाई बताए।

‘निजीस्रोतका शिक्षकलाई राहुरे स्वागतबाटै तलब खुवाउने गरेका थियौं,‘भौतिक संरचनामा पनि सरकारी बजेटले पुग्दैन’ प्रअ खत्रीले भने । उनले बालविकास देखि कक्षा १२ सम्म समुदायबाट सहयोग संकलन गरी शिक्षकलाई तलबभत्ता खुवाउनुपर्ने अवस्थालाई मध्यनजर गरी विद्यार्थीको घरदैलोमा पुगेर देउसीभैलो खेलेको बताए ।

कुहुँ, तुसारेपानी, काउले,र पैयूपाँटामा खेलिएको देउसीभैलोमा अभिभावकलाई विद्यालयका शैक्षिक सहित बार्षिक योजनाका बारेमा समेत जानकारी गराइएको जनाइ्रएको छ । भौतिक पूर्वाधार सहित शिक्षक कर्मचारीको तलब, पुस्तकालय सहित विभिन्न आवश्यकतालाई स्थानीय तथा प्रवासमा रहेका कुहुँबासीले सहयोग गर्ने गरेका थिए । यसैबीच विद्यालयले देउसीभैलो कार्यक्रममा आर्थिक, भौतिक र नैतिक सहयोग गर्नेलाई धन्यवाद दिएको छ ।