म्याग्दीमा यसरी मनाइयो नेपाल सम्वत

नेपालीहरुको मौलिक तथा राष्ट्रिय सम्वत् नेपाल सम्वत् ११३९ को अवसरमा बिहीबार म्याग्दीमा भिन्तुना ¥याली निकालिएको छ । म्याग्दी जिल्लामा बसोबास गर्दै आइरहेका नेवार समुदायको संस्था नेपाल भाषा मंकाः खल म्याग्दीको आयोजनामा न्हुँ दया भिन्तुना ¥याली प्रदर्शन गरिएको हो ।

नेवार समुदायमा प्रचलित म्हः पुजाको दिनबाट नेपाल सम्वतको नयाँ वर्ष शुरु हुनेहुँदा नेपाल सम्वतको स्वागत गर्न ¥याली निकालिएको नेपाल भाषा मंकाः खल म्याग्दीले जनाएको छ ।

मंकाः खलले सदरमुकाम बेनीमा आयोजना गरेको कार्यक्रममा नेपाल सम्वत् र शुभदिपावलीको अवसरमा राष्ट्रिय विभूति शङ्खधर शाख्वाको सम्झनासहित नेपाल सम्वत् ११३९ को स्वागत गरिएको छ।कार्यक्रममा आजदेखि सुरु भएको नयाँ नेपाल सम्वत् तथा नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको एकापसमा शुभकामना आदानप्रदान समेत गरिएको थियो ।

कार्यक्रमको अवसरमा मंका खलका कलाकारहरुले नेवार समुदायमा प्रचलित धिमेबाजा र बाँसुरी बाजा बजाएका थिएभने नृत्य पनि प्रस्तुत गरिएको थियो ।नेवार समुदायले नेपाल सम्वत् र शुभदिपावलीको शुभकामना सन्देशवाचन गर्दै नेवारी भेषभूषा प्रदर्शन गरी बेनीबजारको परिक्रमा गरेका थिए ।कार्यक्रमको उद्घाटन गर्दै सांसद भूपेन्द्रबहादुर थापाले नेपाल कला र संस्कृतिमा धनी देश भएकाले भाषा, धर्म, कला र संस्कृति सबै जातजातिको समान भएको बताउनुभएको छ ।

गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले सामाजिक सद्भावलाई कायम राख्दै सबै जातजातिहरु मिलेर देश विकासमा अगाडि बढ्नुपर्ने बताउनुभयो । सोही कार्यक्रमको अवसरमा नेपाल भाषा मंकाः खल म्याग्दीले गत शैक्षिक सत्र २०७४ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट अङ्क हासिल गर्ने नेवार समुदायका विद्यार्थीहरु रञ्जु श्रेष्ठ, आशिष श्रेष्ठ, अस्मिता श्रेष्ठ र सविन श्रेष्ठलाई सम्मान गरिएको थियो ।

यसैगरी जापानमा आयोजित अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी भई उत्कृष्ट खेल प्रदर्शन गर्ने बेनीका अनुपम श्रेष्ठ र आदेश श्रेष्ठ तथा मिन नेवाः पोखरामा सञ्चालित कार्यक्रममा नेवारी कला, संस्कृति र भेषभूषामा उत्कृष्ट प्रस्तुती प्रदर्शन गर्ने स्मृति श्रेष्ठलाई सम्मान गरिएको छ । नेपाल भाषा मंकाः खलका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष कुविरकुमार श्रेष्ठको स्वागत र कोषाध्यक्ष जयन्द्रकुमार श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाल मगर संघ म्याग्दीका अध्यक्ष मनप्रसाद थजाली र मंका खलका संस्थापक अध्यक्ष सुदर्शनकुमार श्रेष्ठले मन्तव्य राखेका थिए ।