म्याग्दी जिल्लाकै अति विकट गूर्जाबाट काठमाण्डौमा बसोबास गर्ने गुर्जालीको साझा संस्था गूर्जा समाजले खेलेको देउसीभैलोमा २ लाख संकलन भएको छ ।समाजको कोष परिचालन गर्ने उदेश्यले काठमाण्डौमा रहेको गुर्जाबासीको घरदैलो तथा शुभचिन्तकको घरमा तीनदिनसम्म खेलिएको देउसीभैलोमा उक्त रकम संकलन भएको समाजका सल्लाहकार दिप छन्त्यालले बताए । बानियाँटारबाट शुभारम्भ भई गोगंबु, सामाखुशी, गोलढुंगा, मनमैजु हुदै साङ्गालमा पुगेर सम्पन्न भएको भैलो कार्यक्रममा तिहारको शुभकामना आदानप्रदान समेत गरिएको थियो ।

‘गुर्जाबासीलाई समाजका भावी योजना पनि सुनायौं,‘संकलित रकम संस्थागत गतिविधिमा खर्च गरिनेछ’ समाजका अध्यक्ष मोमकुमारी छन्त्यालले भनिन् ।उनले जन्मगाउँ गूर्जामा शिक्षा, स्वास्थ्य सहित विभिन्न सामाजिक कार्यमा समेत समाजको अगुवाईमा विभिन्न कार्यक्रमहरु गरिने बताउँदै गुर्जालीको एकता र सहकार्यलाई थप बलियो बनाउने बताईन् । देउसीभैलोमा एक घर एक सदस्य अभियान अन्तरगत सदस्यका छोराछोरीले नृत्य प्रस्तुत गरेका थिए भने अध्यक्ष छन्त्याल, अगुवा मेजरमान छन्त्यालले सञ्चालन गरेका थिए । यसैबीच देउसीभैलोलाई आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने सम्पुर्णलाई समाजले धन्यवाद ज्ञापन समेत गरेको छ।