म्याग्दीको सदरमुकाम बेनीबजार आसपासका क्षेत्रमा खानेपानीको प्रशोधन, वितरण र महशुल संकलन गर्न लागु भएको स्मार्ट वाटर ग्रिड परियोजनालाई प्रभावकारी बनाउन बेनी नगरपालिकाका मेयर सहितको एक टोली दक्षिण कोरिया प्रस्थान गरेको छ ।

स्मार्ट खानेपानी आयोजना सञ्चालन गर्न बेनी नगरपालिका, बेनी खानेपानी, नगर विकास कोष र दक्षिण कोरियाली संस्था इन्कोनी नेशनल यूनिभसिटीको सहकार्यमा काम भइरहेको अवस्थामा कोरियामा आयोजित अन्तराष्ट्रिय खानेपानी विज्ञ सहितको कार्यशालामा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ र बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष सुवास कुमार श्रेष्ठले बेनी खानेपानीको सम्रग योजना प्रस्तुत सहित स्थलगत भ्रमण गर्ने बताइएको छ ।

करिव एकसाता लामो गोष्टीमा बेनी खानेपानीका बारेमा दक्षिण कोरियाका इन्यु नेशनल युनिभर्सिटीको टोलीले स्थलगत रुपमा बेनीमा तयार पारेको स्थलगत गतिविधि सहित परियोजनाका बारेमा जानकारी गराउने संस्थाका अध्यक्ष श्रेष्ठले बताए ।‘यो एउटा महत्वपुर्ण अवसर हो,‘खानेपानीमा बेनीबजारबासीको निरन्तर सहयोगलाई पनि जानकारी गराउँछौ’ श्रेष्ठले भने ।

गत साउन महिनाको २१ गते बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ र दक्षिण कोरियाका इन्यु नेशनल युनिभर्सिटीका प्रमुख प्रोफेसर डाक्टर चो.यी.ले आगामी तीनबर्ष भित्र बेनी खानेपानीले वितरण गरिरहेको खानेपानीमा स्मार्ट प्रविधिको जडान गर्ने गरी संस्थागत सम्झौता(मेरोरेन्डम अफ अन्डरस्ट्यान्डिङ) मा हस्ताक्षर गरेका थिए ।

नेपालमा बेनीलाई पाइलट प्रोजेक्टका रुपमा रोजेकाले पनि कार्यशाल गोष्ठीमा बेनी खानेपानी प्राथमिकतामा पर्ने अध्यक्ष श्रेष्ठको भनाई छ । मुहानदेखि उपभोक्ताको मुख सम्म शुद्ध खानेपानी उपलब्ध गराउन बाढीपहिरोले असर गरेको अवस्थामा नयाँ प्रविधिको प्रयोगले सहज हुने भएकाले पनि कोरियाली भ्रमणमा सिकेका सीपलाई प्रयोग गर्ने बताए ।

स्मार्ट वाटर प्रोजेक्टका बारेमा उपभोक्तालाई समेत जानकारी गराउने बताउँदै प्रोजक्ट सम्पन्न भएमा स्विच भल्भ र गेट भल्व कम्प्युटरबाट नियन्त्रण हुने, मिटर रिडीङमा आधुनिक उपकरणको प्रयोग हुने,पाईपलाईन तथा भौतिक संरचनाहरुमा रेट्रो फिटिङ गरिने, कम्प्युटरबाट उपभोक्ताको मिटरका बारेमा जानकारी लिइने, प्रयोगशालालाई व्यवस्थित र स्तरोन्नति लगाएत समस्यालाई सहजै समाधान गर्न सकिने बताए ।प्रति सेकेण्ड ३० लिटर पानी झर्ने पुम्दीखोला योजनाको ३ ओटा इन्टेक, चारवटा आरभिटी र १७० ओटा वितरण च्याम्बर रहेका छन् ।

बेनपा– २ ज्यामरुककोटको हाँडेभीर, बेनीबजार र गलेश्वरका ९६५ घरधुरीका उपभोक्तालाई खानेपानी सुबिधा प्रदान गरिरहेको संस्थाले गत आवमा छ करोड पन्ध्र लाख २७५ रुपैयाको लागतमा स्तरवृद्धी गरी चौबिसै घण्टा खानेपानी वितरण गरिरहेको छ । यसैबीच कोरियाली टोलीसंग नगरप्रमुख हरिकुमार श्रेष्ठले नगरपालिका भित्रका अन्य वडामा समेत रहेको खानेपानीका समस्याका बारेमा जानकारी गराउने बताए । उनले गोष्ठी पछिको समयमा नगरपालिका भित्रको धार्मिक तथा पर्यटकीयस्थलका बारेमा जानकारी सहित शिक्षा, स्वास्थ्य, खानेपानी लगाएतका विषयमा कोरियाली तथा म्याग्देलीको उपस्थितीमा छलफल हुने बताए । स्र्माट वाटर प्रोजेक्ट करिव २१ करोड लागतमा ३ बर्षमा सकिने छ ।