(केशव कँडेल) यूवा क्लवको अधिकांस समय खेलकुद र मनोरञ्जनात्मक क्रियाकलाप सञ्चालनमै सिमित हुन्छन् । सहरबजार देखी ग्रामिण क्षेत्रसम्म क्लवले बर्षेनी अधिकांस समय खेलकुद गतिविधिमै केन्द्रित गर्ने गरेका छन् । खेलकुद र रमाइला कार्यमा यूवाहरुको आर्कषण बढिरहेको बेलामा म्याग्दीको एक यूवा क्लवले नेपालीको दोस्रो ठुलो पर्व तिहारको अवसरमा देउसीभैलो कार्यक्रम मार्फत आर्थिक संकलन गरी आर्कषक तथा रमणीय पार्क बनाउन सक्रिय भएको छ ।

म्याग्दीको मंगला गाउँपालिका–२ बावियाचौरमा अवस्थित मंगला यूवा क्लवले देउसीभैलोबाट सङ्गकलित रकमले ‘मंगला इन्द्रेणी’ पार्क बनाउने अभियानमा सहयोग गर्ने क्लवका अध्यक्ष विकास केसीले बताए । मंगला गाउँपालिकाको सक्रियतामा बालबालिका,जेष्ठ नागरिकका साथै पर्यटकलाई लक्षित गरी बनाइने पार्कलाई देउसीभैलो कार्यक्रम मार्फत सङ्कलन गरिएको करिव २ लाख ५५ हजार सहयोग गरिने अध्यक्ष केसीले बताए ।

‘देउसीभैलोलाई बनभोज सहित रमाइला कार्यमा खर्च गर्ने शैलीलाई निरुत्साहित गर्नुपर्छ,‘सुन्दर पार्क बनाउन आवश्यक परे थप सहयोग जुटाउने छौ’ उनले भने ।बावियाचौरका विभिन्न स्थानमा खेलिएको देउसीभैलोमा क्लवले सङ्कलित रकमलाई पार्कमा खर्च गर्ने बताएपछि अपेक्षा गरे अनुसारकै सहयोग प्राप्त भएको क्लवले जनाएको छ। देउसीभैलोमा सहभागी भएका गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले पार्कमा सहयोग जुटाउन यूवा क्लवले गरेको प्रयासले उत्साहित भएको बताए ।

‘खेलकुद गतिविधिमै मात्रै सिमित हुनुहुदैन्,‘यूवाले सामाजिक अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ’ अध्यक्ष रोकाले भने । उनले देउसीभैलोबाट समाजमा विकृतविसंगतीको अन्त्य गदैं यूवालाई समाजका हरेक गतिविधिमा सहभागिता जनाउने वातावरण बनाउनुपर्ने बताए । गाउँपालिकाको केन्द्र बावियाचौरमा पार्कको आवश्यकतालाई मध्यनजर गरी गाउँपालिकाले गरेको प्रयासमा यूवा क्लवले समेत साथ दिएकोमा धन्यवाद दिएका थिए ।

उनले नेपाल सरकारले उपलब्ध गराएको तलबसुविधा वापत एक महिनाको तलब ३१ हजारमा ५० रुपैयाँ थप गरी क्लवलाई हस्तान्तरण गरेका थिए ।सोही अवसरमा बोल्दै अध्यक्ष रोकाले नेपाल सरकारले उपलब्ध गराएको तलबभत्तालाई गाउँपालिका भित्र शिक्षा, स्वास्थ्य सहित सामाजिक अभियानमै खर्च गरेको बताउँदै यूवा क्लवका रचनात्मक कार्यमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए ।

बावियाचौरका यूवाको सक्रियतामा २०७४ सालमा स्थापना भएको क्लवले बजार सरसफाई, रक्तदान कार्यक्रम, निशुल्क सेयर तालिम, बगरमा रहेको देवी मन्दिरको पुननिर्माण सहित प्रथम मंगला कप समेत गरेको थियो । यसैबीच पार्क बनाउन आवश्यक जग्गा गाउँपालिका अध्यक्ष रोकाको पहलमा स्थानीय समाजसेवी क्याप्टेन इन्द्र बहादुर र हरिदेवी अधिकारीले समान्य मानिसले आँट्न नसक्ने मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा रहेको ‘नामी’ ३ रोपनी १५ आन, ३ पैसा, २ दाम जग्गा कुल सरकारी मुल्य कायम भएको ३९ लाख ९२ हजार १८८ रुपैयाँ बराबरको जग्गा गाउँपालिकाको नाममा गत साउन महिनामा निशुल्क पास गरेका थिए ।