जिल्लाको पर्यटकीयस्थल पुनहिलमा चिसोा मौसममा पनि आन्तरिक तथा बाह्य पर्यटकको चाप घटेको छैन् । नेपालीको दोस्रो ठुलो पर्व तिहारमा घुम्न जानेको भीडले घोरेपानी र पुनहिलमा चहलपहल नै छ । अन्नपूर्ण गाँउपालिका–६ मा पर्ने घोरेपानीमा विभिन्न नाकाबाट पर्यटकहरु पुगेका छन् ।

म्याग्दीको प्रमुख पर्यटकीय स्थल समेत रहेको पुनहिलमा कास्कीको पोखरा–नयाँपुल–घान्दु्रक हुदै तिहार आसपासमा दैनिक डेढ सयको हाराहारीमा विदेशी र सोही संख्यामा नेपालीको आगमन भइरहेको पर्यटन प्रहरी कार्यालयका दिपक क्षत्रीले बेनीअनलाइनलाई बताए ।उनका अनुसार असोजको पहिलो सातादेखी लगातार पर्यटकको चाप बढेको बताउँदै मंसिरको दोस्रो सातासम्म पर्यटक घुम्न आउने बताए ।

गतबर्षको तुलनामा पर्यटकको संख्या बढेको अनुमान गरिएको छ । चिसो बढेपनि विहानै पुनहिलमा पुगेर रमाउने गरेका छन् । भाईटिका लगत्तै पुनहिलमा पुगेका बेनीका यूवा ब्यवसायी सुमन श्रेष्ठले विदेशी र आन्तरिक पर्यटकको चहलपहल रहेको बताए । उनले निलो आकाश, नजिकै देखिने धौलागिरी सहितका हिमश्रंखलाको अवलोकन र सुर्यदय हेर्न विहान पाँचबजे नै घोरेपानीबाट पैदलयात्रा गरी पुनहिलमा पुग्ने गरेको बताए ।

दशैंतिहारको विदामा आन्तरिक पर्यटक समेत घुम्न जाने भएकाले पनि होटल खचाखच भरिएको थियो । समुन्दी सतहदेखी ३ हजार २ सय १० मिटरको उचाईमा अवस्थित पुनहिलमा मनोरम हिमश्रृखला, मगर जातीको संस्कृती र रहनसहन,विविध प्रजातीका पशुपंक्षी,वनस्पतीको साथै सुर्योदयको अवलोकन,स्थानिय कला तथा मगर नृत्य लगायत प्रस्तुतबाट समेत पर्यटक आर्कषित हुने गरेका छन्। पर्यटकीयस्थलमा भित्रिने आन्तरिक तथा बाह्य पर्यटकलाई कुनैपनि समस्या नभएको गाउँपालिका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजाले बताए ।

पछिल्लो समय पुनहिलमा पुगेका पर्यटकको रोजाईमा अन्नपूर्ण गाउँपालिकाकै वडा नम्बर ८ मा अवस्थित महरेडाँडा समेत नयाँ गन्तब्य बनेको छ । आन्तरिक पर्यटकले पुनहिलमा एकरात एक दिन विताउने गरेका छन भने विदेशीले दुईदेखी ३ दिनसम्म आसपासमा रमाउने गरेको पर्यटन ब्यवसायीका भनाई छ । करिव पाँच दशकअघि अन्नपुर्ण पदयात्रा मार्ग सुरु भएपछि बाटो हिड्ने पर्यटकका लागि चिया, नास्ता खुवाउन खुलेका साना होटल तथा भट्टी पर्यटकको बाक्लो आगमनसँगै दुईदर्जनको हाराहारीमा सुविधासम्पन्न होटलहरु छन् ।

विश्वको प्रख्यात पर्यटक गाईड लोन्ली प्लानेटले नेपालमा घुम्नै पर्ने १० वटा पर्यटकीय गन्तब्यमा पहिलोपटक अन्न्पुर्ण गाँउपालिकाको घोरेपानी र पुनहिललाई समावेश गरेपछि विदेशी पर्यटकको आगमन बढेको पर्यटन ब्यवसायीको भनाई छ । पुनहिलमा आएका पर्यटक कास्की, भुरुङ तातोपानी हुदै मुस्ताङ जाने गरेका छन् । विश्वको उत्कृष्ट १० गन्तब्य भित्र पर्ने अन्नपुर्ण परिक्रमा पदयात्रामार्ग अन्तर्गत पुनहिल एक सुन्दर गन्तब्य हो। म्याग्दीमा भित्रिने कुल पर्यटकमध्ये करिब ६० प्रतिशतको हाराहारीमा अन्नपूर्ण गाउँपालिकामा पुग्ने गरेको तथ्याङ्कक छ । तस्वीर सौजन्य : सुमन श्रेष्ठ