विसं २०७२ को विनाशकारी महाभूकम्पले काठमाडौँको कोटेश्वरमा आफू बस्दै आएको घर भत्किएपछि गाउँ फर्किएका म्याग्दीका एक युवा कृषिमार्फत पर्यटन प्रवद्र्धनको अभियान सञ्चालन गरेर उदाहरणीय बनेका छन् ।पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका–२ सिमलचौरका युवा अशोक शर्माले साढे दुई वर्षअघि आग्र्या्निक कृषि उपजहरूको उत्पादन गरी आफैँ कटेज सञ्चालन गरी पर्यटन प्रवद्र्धनको अभियान शुरु गर्नुभएको हो । उहाँले सञ्चालन गर्नुभएको के डी कटेज आग्र्या्निक खानेकुरा र ग्रामीण जीवन पद्धतिको नमूना बनेको छ ।

शर्माले सिमलचौरको तीन रोपनी जग्गामा माछापोखरी र कटेज निर्माण गरेर व्यवसाय शुरु गरेको बताउनुभयो । हरेक क्षेत्रमा व्यावसायिकता खोज्ने गरेका शर्माले आफू कृषि परिवेशमा जन्मिएर हुर्किएको हुँदा त्यसै क्षेत्रबाट पर्यटनमा प्रवेश गरेको जानकारी दिनुभयो । कृषिको प्रयोग गरेरै पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास गर्नका लागि आफू यस क्षेत्रमा लागेको उहाँको भनाइ छ ।

शुरुमा रु १५ लाख लगानीबाट स्थापना भएको कटेजमा अहिले १ करोड लगानी पुगेको सञ्चालक शर्मा बताउनुहुन्छ । शर्माले कटेजकै छेउछाउमा तीन पोखरी निर्माण गरेर माछापालन गर्नुभएको छ । पाहुनालाई अग्र्या्निक परिकार खुवाउने उद्देश्यसहित उहाँले पोखरीमा कमन र ग्रासकार्प जातको माछापालन गर्नुभएको छ ।होमस्टे (घरबास)मा आधारित शर्माको कटेजमा एक रातमा १० जनासम्म बस्न सकिन्छ भने कुनै विशेष पार्टी वा कार्यक्रमका लागि ५० जना जति अट्न सक्ने ठाउँ रहेको छ ।

विशेषगरी प्राकृतिक उपचारको स्थल बनेको तातोपानी कुण्ड र पर्यटकीय क्षेत्र टोड्केमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य रहेको शर्माको कटेजमार्फत टोड्केका लागि ग्राहकको चाहनाअनुसार टोड्के जोन प्याकेजको व्यवस्था गरिएको सञ्चालक शर्मा बताउनुहुन्छ । व्यवस्थापन विषयमा स्नातकोत्तर र समाजशास्त्र तथा अर्थशास्त्रमा स्नातक गरेका शर्माले म्याग्दी जिल्लाको पश्चिम क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न आफूले घरबास सञ्चालन गरेको बताउनुभयो ।

उहाँको कटेजमा जेठोबुढो र गौरिया धानको लोकल चामलको भातसहित फापर तथा कोदोको ढिँडो र गुन्द्रुकको समेत स्वाद लिन पाउनुका साथै स्थानीय परिकारहरु खान पाइन्छ ।प्रायः एक पटक आउने ग्राहकहरु पटक– पटक पनि आउने गरेको सञ्चालक शर्माले बताउनुभयो । कटेजप्रति ग्राहक र पाहुनाको आकर्षण बढ्दै जान थालेको उहाँको अनुभव छ ।शर्माले कटेजमा पाँच जनालाई रोजगारी दिनुभएको छ । उहाँले कटेजमार्फत मासिक रु तीन लाखदेखि पाँच लाखसम्म कमाई हुने हुँदा महीनामा रु एक लाखभन्दा बढी बचत गर्ने गरेको जानकारी दिनुभयो ।

आगामी दिनमा कटेजका साथै सेवासुविधाको पनि विस्तार गर्ने लक्ष्य उहाँको छ । घरबास सञ्चालन गरेर पर्यटन क्षेत्रको विकास गर्ने र पर्यटक आकर्षण बढाउन सकिने शर्माको अनुभव रहेको छ । उहाँले कटेजमा चहलपहल संगै नजिकै आर्कषक दुईतले पक्की भवन समेत बनाउनुभएको छ । सेमिनार हल सहित पाहुनालाई बस्न मिल्ने थप पूर्वाधारले समेत सहज भएको छ । होटल ब्यवसायसंगै सञ्चार र म्यूजिक भिडियोमा समेत अब्बल शर्माले पश्चिम म्याग्दीमा रेडियो स्टेशनका लागि समेत जनप्रतिनिधिहरुसंग छलफल सुरु गर्नुभएको छ ।