पारिवारिक भ्रमणमा दुईदिन देखी म्याग्दीमा रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री राम बहादुर थापाले जिल्लाको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वरधाम शिवालय मन्दिरको दर्शन गरेका छन् ।

प्रदेश सांसद विनोद केसी, नेकपाका जिल्ला नेताहरुसंगै मन्दिरमा पुगेका प्रचण्ड र बादललाई गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्ध बहादुर केसीले स्वागत तथा मन्दिरका बारेमा जानकारी गराएको कोषका कार्यालय सचिव राम बहादुर बानियाँले बेनीअनलाइनलाई बताए । ‘मन्दिरमा आवश्यक पूर्वाधारका बारेमा पनि जानकारी गराइएको छ,‘धार्मिकस्थलको प्रर्वधमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो‘ बानियाँले भने।

गलेश्वरका बारेमा जानकारी गराएपछि अध्यक्ष प्रचण्ड र गृहमन्त्री बादल संगसंगै मुल मन्दिरमा पुगेर दर्शन गरेका थिए । दुवैजनालाई पुजारीले विधिपुर्वक पुजाआजा गरेर टिका लगाइदिएका थिए । गलेश्वर दर्शनको क्रममा धार्मिक क्षेत्रले पर्यटन प्रर्वधनमा सघाएको बताउँदै सरकारले धार्मिक तथा पर्यटकीयस्थललाई प्राथमिकतामा राखेको बताएका थिए । सोही अवसरमा दुवैले मन्दिर आसपासका क्षेत्रको समेत अवलोकन गरेका थिए ।

कृष्णागण्डकीबाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयं उत्पत्ति ज्योतिर्लिङश्वर महादेव विराजमान भएको क्षेत्रलाई सरकारले देशभर रहेका पुराना पर्यटकीय गन्तब्यको सुचीमा राखेको छ । गलेश्वरधाममा रहेका ज्योतिर्लिङ्ग, शालिग्राम, जलकूण्ड, शंखचक्रहरु, नागमणी आदि चक्राकार रूपी चिन्ह मानवनिर्मित नभई स्वंयम उत्पन्न भएको धार्मिक पुस्तकमा उल्लेख छ ।

सोमबार नेपाली सेनाको हेलिकप्टरमा पत्नी सीता, छोरी गंगा र पत्नी नैनकलालाई लिएर आएका गृहमन्त्री राम बहादुर थापा बेनी नगरपालिका–४ सिंगा तातोपानीमा अवस्थित कुण्ड स्नान गर्न पुगेका थिए । यसैबीच मंगलबार विहान कालिगण्डकी नदीले कटान गरेको तटबन्धन, छिमेकी पर्वत जिल्लाको मल्लाज जाने पदमार्गमा पुगेका थिए । तातोपानी कुण्ड स्नान गर्ने प्रमुख उदेश्यका साथ आएका प्रचण्ड मंगलबार दुईपटक कुण्डमा स्नान गर्नेछन् । बुधबार दिउँसो फर्किने कार्यक्रम रहेको छ । बेनीको होटल याकमा बसिरहेका प्रचण्ड, गृहमन्त्रीलाई लक्षित गरी सुरक्षा ब्यवस्था कडा बनाइएको छ ।