सिंहदरवारको सुविधा जनताको घरदैलोमै : प्रचण्ड

0
287

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय सरकारलाई अधिकारसम्पन्न बनाइने बताएका छन् । संविधानको कार्यान्वयन तथा जनतालाई परिर्वतनको महसुस गराउन स्थानीय तहमा कर्मचारी र पूर्वाधारको अभावका कारण जनप्रतिनिधिले काम गर्न नसकेको बताए ।

तीनदिने पारिवारिका भ्रमणको सिलसिलामा म्याग्दीमा रहेका पूर्व प्रधानमन्त्री दाहालले पश्चिम म्याग्दीको मंगला गाउँपालिका–२ सिमलचौरमा आयोजित भेटघाट कार्यक्रममा अधिकारसम्पनन स्थानीय सरकारसहित तीन तहको संघीय संरचनालाई संविधानमा तोकिएको अधिकारको प्रयोगमा ढिलाई गर्न नहुने बताए । उनले सरकारले परिवर्तनको महसुस गर्ने गरी काम गरिरहेको दावी गदैै सिंहदरवारको अधिकारलाई गाउँगाउँमा पुग्ने गरी सरकारले पूर्वाधार, कानुन र कर्मचारी ब्यवस्थापन गर्ने बताए ।

उनले केन्द्रिय सरकारले गरेका जनपक्षिय कामलाई जनताको घरदैलोमा पु¥याउने जिम्मेबारी स्थानीय जनप्रतिनिधिको भएको बताए । उनले सरकारको मेरुदण्ड नै स्थानीय तह भएको बताए । जनतालाई विकासको अधिकार, सुशासन, घरदैलोमै सेवा उपभोग गर्ने ब्यवस्था मिलाउन स्थानीय सरकारको सक्रियतलाई थप प्रभावकारी बनाउनुपर्ने बताए ।

स्थानीय सरकारको विकास निर्माणमा जनताको सहज पहुँच, स्रोतसाधनको परिचालनका साथै समस्यालाई समाधान गर्ने गरी विश्वमै नयाँ मोडलको स्थानीय तहको संरचना लागु भएको बताए । उनले हाल जिल्लामा रहेका सरकारी कार्यालय अस्थायी भएको बताउँदै केहीबर्ष भित्र जिल्लामा रहेका सरकारी कार्यालयहरु स्थानीयतहमै सारिने बताए । उनले डिभिजन वा अन्य वाहनामा सदरमुकाममा राखिएका कार्यालय तर्फ संकेत गदैं तोकिएको जिम्मेबारी र ठाउँमा पुगेर कर्मचारीले सेवा दिनुपर्ने बताए ।

गृहमन्त्री रामबहादुर थापासंगै सहिद परिवार, स्थानीय जनप्रतिनिधि, पार्टीका कार्यकर्तालाई भेटघाटको क्रममा अध्यक्ष प्रचण्डले म्याग्दी जिल्लामा विकास निर्माणमा बजेट अपुग भएको महसुस गरेको बताए । मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले कर्मचारीको ब्यवस्थापन नहुदाँ जनप्रतिनिधिलाई सकस भएको बताएका थिए । भेटघाट कार्यक्रममा मंगला माविका प्रधानध्यापक गम बहादुर खत्रीले मावि तथा मंगला शिक्षा क्याम्पसमा प्राविधिक शिक्षाको अनुमति, पूर्वाधारको आवश्यकता रहेको बताउँदै ज्ञापनपत्र बुझाएका थिए ।

माओवादी जनयूद्धमा श्रीमान नन्द र छोरी सुजनालाई गुमाएकी गुमा खड्कालाई भेटेर दाहालले सहिदको सपना साकार गर्ने बताए । उनले सहिद परिवारलाई सरकारले कुनैपनि अभाव महसुस हुन नदिने बताए । उनले भेटघाटमा पटकपटक सहिदको नाम लिएका थिए । भेटघाट पछि यूवा ब्यवसायी अशोक शर्माको केडी कटेजमा आराम गरेर फर्किएका थिए ।

सोमबार पत्नी सिताको उपचारका लागि प्राकृतीक उपचारस्थलको रूपमा परिचित म्याग्दीको तातोपानी कुण्डमा पुत्री गंगा दाहाल, गृहमन्त्री राम बहादुर थापा,उनकी धर्मपत्नी नैनकला सहित पारिवारिक टोलीले तीनदिनसम्म कुण्डमा दैनिक दुईपटक स्नानसंगै दाहाल र गृहमन्त्री थापाले पार्टीका कार्यकर्ता भेटघाट, प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम मन्दिर, निर्माणधिन अवस्थामा रहेको राहुघाट जलविद्युत आयोजना, तातोपानीकै सरस्वती माविको अवलोक गरेका थिए। श्रीमतिको उपचार संगै भेटघाटमा दाहल र गृहमन्त्री थापा संगसंगै रहेका छन् । बुधबार विहान एकपटक कुण्डमा स्नान गरी दिउँसो पार्टी कार्यकर्ता भेटघाट, म्याग्दी उवासंघको स्वागत तथा पत्रकार सम्मेलनमा सहभागी भई काठमाण्डौ फर्किने कार्यक्रम रहेको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।