‘यातायात क्षेत्रमा रहेको सिण्डीकेट तोडियो, अव पूर्णरुपमा अन्त्य हुन्छ’ :गृहमन्त्री बादल (भिडियो)

0
297

गृहमन्त्री रामबहादुर थापाले सिण्डीकेट कानुनी रुपमा अपराधमा परिभाषित भएकाले सिण्डीकेट गर्ने अपराधीलाई कार्वाही गरिने बताएका छन् । म्याग्दी कोरला यातायात प्रालिद्वारा सञ्चालित स्तरीय सुविधायुक्त बेनी–काठमाडौं बस सेवाको मङ्गलबार शुभारम्भ गर्दै उनले सिण्डीकेटको पूर्णरुपमा अन्त्य गर्ने बताएका हुन् ।

गृहमन्त्री थापाले कानुनी रुपमा सिण्डीकेट अन्त्य भए पनि व्यवहारमा अझै रहेको हुँदा यसको अन्त्यका लागि सरकारले ध्यान दिइरहेको बताए । उनले सिण्डीकेट गर्नु गैरकानुनी भएको बताउँदै सिण्डीकेट अपराधको रुपमा परिभाषित गरिएकाले यस्तो क्रियाकलाप गर्नु कानुनी रुपमा अपराध भएको हुँदा अपराधीलाई राज्यले निश्चित रुपमा सजायँ दिने बताएका थिए ।

यातायातका क्षेत्रमा रहेको सिण्डीकेटको अन्त्य र व्यवस्थापन गर्नका लागि यातायात मन्त्रालयले कार्यदल गठन गरेको बताउँदै गृहमन्त्री थापाले कार्यदलमार्फत काम अगाडि बढाइएको जानकारी दिएका छन् ।उनले देशको सबै ठाउँमा सिण्डीकेट रहेकाले विकासले गति लिन नसकेको बताउँदै सबै ठाउँमा भएको सिण्डीकेटको अन्त्य गर्नुपर्नेमा जोड दिए ।

उनले भने– ‘सिण्डीकेट यातायात, शिक्षा, स्वास्थ्य र विद्युतलगायत सबै ठाउँमा छ, सबै मिलेर यसको अन्त्य गर्नुपछ ।’ देशलाई गरिबी र दरिद्र बनाउन सिण्डीकेटले भूमिका खेलिरहेको उनको भनाइ छ । गृहमन्त्री थापाले सबै मिलेर देश विकासमा लाग्नुपर्ने बताउँदै समृद्ध नेपाल र सुखी नेपाली बनाउने सरकारको लक्ष्य लिएको बताए । उनले नेपाललाई विकसित, समृद्ध र सभ्य मुलुकका रुपमा परिणत गरिने भन्दै देशलाई छिटोभन्दा छिटो विकासको गतिमा अगाडि बढाउनुपर्ने बताए ।

उनले सबै नेपालीहरुलाई सुखी बनाउन देशमा रहेको गरिबी, बेरोजगारी र अशिक्षा हटाउन आवश्यक रहेको बताएका थिए। देशलाई समृद्ध र नेपालीलाई सुखी बनाउन सरकार लागिपरेको मन्त्री थापाले बताए ।सोही कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सांसद विनोद केसीले यातायात क्षेत्र व्यवस्थित नहुँदा नागरिकहरुले दुःख र सास्ती पाएको बताउँदै यसलाई व्यवस्थित बनाउन पहल गर्ने बताएका थिए ।कार्यक्रम प्रालिका अध्यक्ष सुरत केसीको अध्यक्षता, सञ्चालक प्रकाश पौडेलले सञ्चालन र नरेश रोकायाको धन्यवाद मन्तव्यसहित सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, नेकपाका नेता, कार्यकर्ता र सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको अवसरमा म्याग्दी कोरला यातायात प्रालिले अन्नपूर्ण–७, हिस्तानकी रियाना रन्तिजाको कलेजो प्रत्यारोपणका लागि नगद १५ हजार रुपैयाँ गृहमन्त्रीमार्फत बालिकाको आफन्तलाई हस्तान्तरण गरेको छ । प्रालिले बेनी–काठमाण्डौं भिआईपी सुविधासम्पन्न दुईवटा बससहित सेवा विस्तार गरेको छ । प्रालिले यसअघि बेनी– पोखरा, बेनी–काठमाण्डौं र पोखरा–जोमसोम उच्चस्तरीय सुविधासहितको बस सेवा दिँदै आएको छ । प्रालिले झण्डै ७ करोडको लगानी गरेको जनाएको छ ।