दाहाल दौडधूप : कार्यकर्तासँग घुलमिल हुने प्रयास

0
392

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल अहिले श्रीमतीको प्राकृतिक पद्धतिबाट उपचार गर्ने सिलसिलामा म्याग्दी पुगेका छन् । दसैंलगत्तै पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएपछि सार्वजनिक कार्यक्रम र पार्टी गतिविधिमा सहभागी भएका छैनन् ।

तर यसबीचमा दाहालको दौडधूप सामान्यभन्दा बढी नै देखियो । नेकपाले चाडपर्वका अवसरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम र अन्य कार्यक्रममा समेत दाहाल उपत्यकाभित्र र बाहिर पनि निकै सक्रियताका साथ सहभागी भए। दाहाल पार्टी गतिविधिमा संलग्न हुन काठमाडौं वा बाहिर जाँदा प्रायः पार्टीका महासचिव विष्णु पौडेललाई पनि साथमै लिएर हिँड्ने गरेका छन् ।उनको यो सक्रियतालाई राजनीतिक वृत्तमा फरकफरक ढंगले अथ्र्याउने गरिएको छ ।

राजनीतिशास्त्री प्राध्यापक कृष्ण पोखरेल दाहालको दौडधूपलाई नेता–कार्यकर्तामा आफ्नो स्थान बनाउने प्रयासका रुपमा व्याख्या गर्छन् । एकजना अध्यक्ष सक्रिय हुन नसकेका बेला अर्का अध्यक्षको सक्रियता स्वाभाविक भए पनि दाहालको दौडधूप ओलीपछिको नेतृत्व आफ्नो पक्षमा पार्ने योजनाअनुसार भएको अनुमान पोखरेलको छ । ‘पछिल्लो पटकको उहाँको सक्रियता पार्टीका नेता कार्यकर्तामाझ आफ्नो स्थान बनाउनका लागि भएको जस्तो देखिन्छ,’ पोख्रेलले भने।

ओलीपछिको नेतृत्वमा दाहालसँगै माधवकुमार नेपालको पनि दाबी रहेकाले नेता–कार्यकर्तामा दाहालले आफ्नो स्थान बनाउन खोज्नु स्वाभाविक पनि रहेको पोखरेल बताउँछन् । नेतृत्वतहमा दुईजना अध्यक्ष रहेकाले ओलीपछिको दाबी स्वाभाविक रुपमा दाहालको हुने भए पनि कार्यकर्ताले पनि त्यो विषयलाई स्वीकार गर्नुपर्ने भएकाले कार्यकर्तामाझमा पनि आफ्नो प्रभाव विस्तार गर्न सक्नुपर्ने पोखरेलको भनाइ छ । ‘स्वाभाविक दाबेदार भन्नु र हुनु फरक विषय हो,’ पोखरेलले भने।

अहिलेको अवस्थामा अध्यक्ष ओलीले सरकारको समेत नेतृत्व गरेकाले उनलाई कमजोर बनाउन सम्भव नरहेको भन्दै पोखरेल भावी नेतृत्वका रुपमा एकीकृत पार्टीका नेताकार्यकर्तासँग घुलमिल हुन दाहालको सक्रियता बढेको बताउँछन् । ‘दाहालले आफू सहभागी भइरहेका कार्यक्रममा दिने अभिव्यक्तिले पनि ओलीको विकल्प नभई आफ्नो स्पेस बनाउन खोजेको देखिन्छ,’ उनले भने।

कतिपयले ओली सुस्ताइरहेका बेला दाहालको सक्रियता बढ्नुलाई बाहिर चलखेलका रुपमा पनि अथ्र्याउने गरेका छन् । विशेष गरी पछिल्लो समय दाहालको भारतसँगको सम्बन्धलाई लिएर यस्ता टीकाटिप्पणीहरु हुने गरेका छन् । तर राजनीतिशास्त्री पोखरेल भने यो विषयमा दम नरहेको दाबी गर्छन् । ‘दाहालको अहिलेको सक्रियताका पछाडि बाहिरी चलखेलको प्रभाव छ भन्ने कुरामा मलाई विश्वास लाग्दैन,’ उनले भने ।

पछिल्लो समय नेपालमा बाहिरी चलखेलको प्रभाव पहिलेजस्तो नरहेको उनको तर्क छ। दाहालको सक्रियताबारे राजनीतिक विश्लेषक झलक सुवेदीको मत पनि पोखरेलकै जस्तो छ । सुवेदी दाहालको सक्रियताका पछाडि नेता–कार्यकर्ताबीच घुलमिल हुने चाहनाले काम गरेको बताउँछन् । ‘एकजना अध्यक्ष कम सक्रिय भइरहेका बेला अर्का अध्यक्षको सक्रियताबारे विभिन्न अनुमान हुन सक्छन् तर त्यसमा नेतृत्वको प्रतिस्पर्धा हो जस्तो लाग्दैन,’ सुवेदीले भने।

पार्टी गतिहीन भइरहेका बेला दाहालको पछिल्लो सक्रियताले पार्टीलाई फाइदा नै पुग्ने सुवेदी बताउँछन् । ‘उहाँको दौडधूप पार्टीमा सल्लाहअनुसार नै भएको हुनुपर्छ । ओलीपछिको मुख्य नेता भएकाले दाहालको सक्रियता स्वाभाविक पनि हो,’ सुवेदीले भने ।

पार्टीभित्र घुलमिल हुनका लागि अध्यक्ष ओलीसँगै सक्रिय हुँदा फाइदा हुने भए पनि एक्लै सक्रिय हुँदा दाहाललाई नेता–कार्यकर्तामाझ स्थान बनाउन थप सहयोग पुग्ने सुवेदीको तर्क छ। नेकपाका नेता टोपबहादुर रायमाझी भने दाहालको सक्रियतालाई स्वाभाविक मान्छन् । ‘एउटा महत्वपूर्ण जिम्मेवारीमा रहेको व्यक्तिको सक्रियता स्वाभाविक हो, कहिले बढी सक्रिय हुने र कहिले कम सक्रिय हुने भन्ने सामान्य कुरा हो, त्यसैले यो विषयलाई धेरै ठूलो बनाउन आवश्यक छैन,’ रायमाझीले भने।