संघीयतालाई असहयोग गर्ने कर्मचारी बर्खास्त गर्नुपर्छ : ‘प्रचण्ड’

0

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयताको मर्म अनुरुप राज्य सञ्चालनमा कर्मचारीतन्त्रले निरन्तर अवरोध गरेको आरोप लगाएका छन् । राजाका पालामा तालिमप्राप्त माथिल्लास्तरका कर्मचारीले संघीयतालाई कार्यान्वयनमा असहयोग गरेको बताए ।

नेतालाई पनि कर्मचारीले बिगारिसकेको दाहालको भनाई छ । जिल्लामा रहेका सरकारी कार्यालयलाई डिभिजन वा अन्य वाहनामा हटाएर तीन जिल्ला हेर्ने गरी एउटा कार्यालय राख्नु नै संघीयता असफल बनाउने खेल भएको बताए । नीजि तथा पारिवारिक भ्रमणका लागी म्याग्दी आएका अध्यक्ष दाहालको स्वागतमा बुधबार म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा उनले माथिल्लो तहका कर्मचारीको सल्लाहमा नेता समेत कर्मचारीजस्तै भएको दावी गरे ।

उनले सरकारले दिएको निर्देशनलाई अटेर गर्ने कर्मचारीलाई हटाएर नयाँ भर्ती गर्नुपर्ने बताए । उनले विश्वका धेरै मुलुकमा सरकारको परिवर्तन संगै माथिल्ला तहका कर्मचारीलाई बर्खास्त गरिने उदाहारण दिदैं नेपालमा पनि त्यस्तै कानुन बनाउनुपर्ने बताए । ‘प्रधानमन्त्री केपी शर्मालाई संघीयता कार्यान्वयनमा बाधक कर्मचारीलाई हटाएर नयाँ भर्ना गर्न सुझाव दिए । शिक्षित यूवाहरु समेत रोजगारीको खोजीमा विदेश पलायन हुनुपर्ने अवस्थामा सरकारी सेवासुविधा लिएर काम नगर्ने कर्मचारीलाई हटाएर विदेश पलाउन रोक्नुपर्ने बताए ।

स्थानीय तहमा खटिएका कर्मचारी भुमिगत जस्तै भएको बताउँदै प्रदेश र स्थानीय तहमा जान आनकानी गर्ने कर्मचारीप्रति सरकार कठोर निर्णय गर्नुपर्ने बताए । उनले जिल्लामा रहेका सरकारी कार्यालय अस्थायी भएको बताउँदै सबै सरकारी सेवाहरु स्थानीय तहमा पुग्ने बताए । कर्मचारीमाथि खनिएका अध्यक्ष दाहालले काठमाण्डौ फर्किएपछि प्रधानमन्त्रीसंग स्थानीय तहमा देखिएको समस्यालाई जानकारी गराउने बताए ।

गत सोमबार पत्नी सीता दाहालको उपचारका लागि प्राकृतीक उपचारस्थलको रूपमा परिचित म्याग्दीको तातोपानी कुण्डमा स्नान गर्न आएका अध्यक्ष दाहालले बुधबार नै आयोजित पत्रकार सम्मेलनमा बर्खाको समयमा सरकारको काम कारवाही प्रभावकारी नभएको जनताले गुनासो गर्न थालेको बताउँदै गति दिन अब ‘गियर’ बदल्ने बताएका छन् । बर्खाको समयमा सवारीसाधन सहजै चल्न सक्दैनन्, त्यसैले एक गियरमा चल्ने जस्तो भएको थियो,‘अब मौषम परिवर्तन भएकाले अव तिब्र गतिमा गुड्ने बताए ।

उनले स्थानीय तहको कर, कर्मचारी समायोजनमा सरकारले कमजोरी गरेको स्वीकार गदैं जनतालाई क्षमता भन्दा धेरै करको भारी बोकाउन नहुने बताए । भारत, सिंगापुर थाईल्याण्डका अस्पतालमा उपचारबाट समेत सन्चो नभएपछि बेनी नगरपालिका–४ सिंगा तातोपानीमा अवस्थित कुण्डमा पुत्री गंगा दाहाल, गृहमन्त्री राम बहादुर थापा,उनकी धर्मपत्नी नैनकला सहित तीनदिनसम्म स्नान गदैं राजनीतिक भेटघाटमा समेत सहभागी भएका थिए ।