गण्डकी प्रदेशस्तरीय छात्रा फुटबल प्रतियोगितामा सहभागी हुन म्याग्दीबाट १८ जना खेलाडी छनौट भएका छन् । जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको छनौट खेलमा सहभागीले गण्डकी प्रदेशभित्रका ६ वटा जिल्लाका खेलाडीसंग प्रतिस्पर्धा गर्नेछन् । शुक्रबार खुल्लामञ्चबाट प्रतियोगिताका लागी खेलाडी छनौट गरिएको हो । ‘म्याग्दीका लागी राम्रो अवसर हो,‘छात्रा फुटबल प्रतियोगिता सञ्चालन गरेकाले सहज भएको छ’समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले भने । म्याग्दीबाट छात्र फुटबल प्रतियोगितामा सहभागी हुनेको नाम समेत छनौट भइसकेको छ ।

उनका अनुसार म्याग्दीबाट फुटबल, एथलेटिक्स, टेवल टेनिस, भलिबल, तेक्वान्दो, कबड्डी, उसु,बास्केटबल, व्याडमिन्टन, कराँते लगाएतका खेलमा छनौट गरिने छ । जिल्लाबाट छनौट भएका खेलाडीले प्रदेशस्तरमा हुने प्रतियोगितामा छनौट हुदैं बाँकेको नेपालगञ्जमा हुने आठौं राष्ट्रिय खेलकुदमा सहभागी हुन्छन् । म्याग्दीबाट भलिबल, तेक्वान्दो, कराँतेमा प्रदेशस्तरबाट छनौट भई राष्ट्रिय खेलकुदमा पदकको आशा गरिएको छ । सातौं खेलकुद प्रतियोगितामा म्याग्दीबाट कराँते र भलिबल लगाएतका प्रतियोगितामा प्रदेशस्तरमा समेत उत्कृष्ट खेल्दै राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएका थिए । यसैबीच जिल्लाबाट सहभागी हुने खेलाडीको एकैपटक नाम सार्वजनिक गरिने खेलकुद विकास समितिले जनाएको छ ।