यहाँको एक प्राकृतिक उपचार केन्द्रको रुपमा परिचित तातोपानी कुण्डको आम्दानीले सामुदायिक विद्यालयका शिक्षकको तलव जुटाइएको छ । बेनी नगरपालिका–४ तातोपानीमा म्याग्दी नदीको किनारमा रहेको कुण्डमा विरामीले स्नान गरे बापत लिइने शुल्कले शिक्षकको तलब, भौतिक पूर्वाधार लगाएत विभिन्न शैक्षिक गतिविधिमा खर्च गर्ने गरिएको हो ।

समुदायको सक्रियतामा स्थापना भएको विद्यालयमा आधारभुत र माध्यामिक तहका शिक्षकलाई बार्षिक १६ लाख तलब सुविधामा खर्च गर्ने गरिएको तातोपानी कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले बताए । ‘तातोपानीको कमाईको ठुलो हिस्सा शैक्षिक क्षेत्रमा खर्च गर्ने गरिएको छ ।गुणस्तरीय शिक्षाका लागि हरेक तलब बाहेक पनि खर्च गर्ने गरेका छौ’ शाक्यले भने ।उनले १–१० मा ३ सय ५ जना विद्यार्थी अध्ययरत विद्यालयमा निजी स्रोतका १० शिक्षकको तलबभत्तामा बि.स २०६६ साल देखी निरन्तर कुण्डको सहयोगमा तलब खुवाउँदै आएको बताए ।

राज्यले उपलब्ध गराउने दरबन्दीको अभावमा तत्कालिन समयमा प्राथमिक तहमै सिमित हुनुपर्ने अवस्थालाई स्थानीयबासीले कुण्ड बाहेक चन्दा सङ्कलन, आर्थिक सहयोगले मावि तहसम्म सञ्चालन गर्न सफल भएको विद्यालयले जनाएको छ ।हरेक बर्ष सरकारले तोकेको तलबभत्ताका साथै खेलकुद मैदान खरिदमा २३ लाख, भवन निर्माणमा समेत कुण्डले सहयोग गरेको प्रधानध्यापक सुरत बहादुर बानियाँले बताए ।‘मावि तहमा सरकारी दरबन्दी छैन् ।कुण्डको सहयोगले नै अहिलेसम्म सहज भएको छ’ बानियाँले भने । उनले अग्रेंजी माध्यमले अभिभावकले निजी विद्यालयबाट समेत छोराछोरीलाई ल्याउने गरेको बताए । ‘प्राविधिक शिक्षाका लागि समेत पहल भइरहेको छ । विद्यालयलाई तातोपानी कुण्ड बरदान सावित भएको छ’ उनले भने ।

केही दिन अगाडी पत्नी सिताको उपचारमा म्याग्दी आएका नेकपाका अध्यक्ष प्रचण्डका साथै गृहमन्त्री राम बहादुर थापाले समेत विद्यालयमा पुगेका थिए । समुदायको प्रयासमा विद्यालयमा भइरहेको सहयोगले उत्साहित भएको बताउँदै नेकपाका अध्यक्ष प्रचण्डले शिक्षकको दरबन्दी ब्यवस्थापन गर्न नसक्नु कमजोरी भएको बताउँदै सरकारले शिक्षामा प्राथमिकता दिएर बजेट विनियोजन गर्ने वातावरण बनाउने बताएका थिए । विद्यालयले भविस्यमा थप भौतिक पूर्वाधार विस्तार, दश जोर दुई कक्षा सञ्चालन लगाएतका योजनामा बनाएको छ ।

राक्से, तातोपानी, पखेर, सिमलचौर लगाएत आसपासका क्षेत्रका विद्यार्थी अध्ययरत विद्यालय जिल्ला सदरमुकाम बाहिर समुदायको आम्दानीले सञ्चालनमा रहेको नमुना विद्यालयको रुपमा समेत चिनिन्छ । जमिन मुनिबाट बिरेनुनको गन्ध सहित ५० डिग्री तापक्रमको पानी संकलन गरिएको तलाउमा स्नान गरेर बाथ, चोटपटक लागेको, ग्यास्ट्रीक, गानोगोला लगायत विभिन्न रोगबाट ग्रसित नेपालका साथै भारत र जापानबाट समेत नियमित स्नान गर्न आउने गरेका छन् । बर्षेनी २० हजार जनाले स्नान गर्ने गरेका छन् ।कुण्डको आम्दानी नदी कटान संरक्षण, ढल ब्यवस्थापन, स्वास्थ्य चौकी, प्रहरी चौकीको जग्गा खरिद, आमा समुह, यूवा क्लव लगाएत विभिन्न सामाजिक क्षेत्रमा खर्च गर्ने गरिन्छ। कुण्डको आम्दानीले तातोपानी बजारको मुहार फेरिएको छ । कुल आम्दानीको २५ प्रतिशत बेनी नगरपालिकालाई उपलब्ध गराउने गरिएको छ ।