म्याग्दी समाज न्यूयोर्क यूएसएले केहीदिन अगाडी नेपालीको दोस्रो ठुलो पर्व तिहारको अवसरमा संस्थागत तथा सामाजिक अभियानमा सहयो गर्ने उदेश्यले सञ्चालन गरेको देउसीभैलो कार्यक्रममा करिव २ लाख ५० हजार संकलन भएको छ । न्यूर्योकमा रहेका म्याग्देलीहरुको साझा संस्था समाजले देउसीभैलो तथा सम्मान कार्यक्रमको अवसरमा संस्थागत गतिविधि लगाएत भावी योजनाका बारेमा समेत जानकारी गराएको थियो । प्रमुख चाडपर्वमा जन्मभुमीमा आउन नपाएका म्याग्देलीलाई कर्मभूमीमै विभिन्न कार्यक्रम गरी मनाउने गरिएको समाजमा सचिव याम पुनले बताए ।

उनका अनुसार देउसीभैलो तथा भेटघाट कार्यक्रमकै अवसरमा संस्थागत गतिविधिमा आर्थिक सहयोग गर्ने चन्दादातालाई सम्मान समेत गरिएको थियो ।
सोही अवसरमा केही महिना अगाडी म्याग्दीको बेनी नगरपालिका भकिम्ली, अन्नपूर्ण गाउँपालिकाको शिख र मंगला गाउँपालिकामा आयोजित स्वास्थ्य शिविरमा स्थलगत रुपमै विरामीको उपचार तथा शिविरमा समाजको तर्फबाट संयोजकका भूमिका खेलेकी न्यूयोर्क ईन्स्टिच्युट अफ टेक्नोलोजी कलेजकी विद्यार्थी खुश्बु पुनलाई सम्मान गरिएको थियो ।

समाजको पहलमा शिविरसंगै बेनी अस्पताल र तीनवटा स्वास्थ्य चौकीमा करिव चार लाख बराबरको स्वास्थ्य साम्रागी र उपकरण सहयोगका साथै ग्रामिण क्षेत्रका जनतालाई घरदैलोमै पुगेर स्वास्थ्य शिविर सञ्चालनमा आर्थिक, भौतिक र नैतिक सहयोग गर्नेलाई धन्यवाद समेत दिइएको थियो । देउसीभैलो तथा सम्मान कार्यक्रमको अवसरमा समाजका अध्यक्ष भविन्द्र शेरपुञ्जाले समाजले भविस्यमा पनि स्वास्थ्य, शिक्षा सहित मानवीय सेवामा सहयोग गर्ने बताए । कार्यक्रमको अध्यक्षता अध्यक्ष शेरपुञ्जा, स्वागत मनप्रसाद रोका र सञ्चालन रमेश तुलाचनले गरेका थिए ।