एकबर्ष देखि इराकमा अलपत्र परेका एक म्याग्देलीको उद्धार गरिएको छ । पाँचबर्ष अगाडी इराक पुगेका धवलागिरी गाउँपालिका–३ मुनाका छविलाल पाईजा मगरको त्यहाँ कार्यरत म्याग्देलीको पहलमा उद्धार गरिएको हो । इराकको एक सिमेन्ट कम्पनीमा कार्यरत पाईजाको भिसा सकिएपछि इराकको कुर्दिस्तानका सुलेमानी सहरमा अलपत्र परेको समाचार बेनीअनलाइनले प्रकाशित गरेलगत्तै म्याग्देलीले आवश्यक कानुनी प्रक्रिया सहित टिकटका लागी आर्थिक सहयोग सङ्कलन सुरु गरेको बेनी नगरपालिका ३ भकिम्लीका मेख गर्बुजा मगरले बताए ।

‘समाचारबाट जानकारी पाएलगत्तै हामीले पहल सुरू गरेका थियौं,‘उहाँलाई आवश्यक पर्ने सम्पूर्ण खर्च जुटाउन सफल भएका छौ’ मगरले बेनीअनलाइनलाई भने । भिजिट भिषामा पुगेका पाईजा कार्यरत सिमेन्ट कम्पनी बन्द भएपछि प्रहरीले कागजात नियन्त्रणमा लिएको थियो । उनका अनुसार तीनबर्षसम्म उमेर र योग्यता नभएकै कारण कुनैपनि काम नपाएर बस्दै आएका पाईजालाई कुर्दिस्तान प्रवासी नेपाली समाज, नेपाली महिला समाजमा आवद्ध म्याग्देली सहित नेपालीले आर्थिक सहयोग संकलन गरी कानुनी तथा टिकट, बाटोखर्च जुटाएको बताए ।

समाजका विनोद श्रेष्ठको पहलमा आर्थिक संकलन गरिएको थियो । समाजले पाईजाको उद्धारमा आर्थिक सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद समेत दिएका छन् । इराकको कुर्दिस्तान सुलेमानीमा रहेका नेपालीहरुको साझा संस्था मार्फत आर्थिक सहयोग तथा कानुनी प्रक्रियालाई अगाडी बढाइएको थियो ।अभियानमा कुर्दिस्तान, दुहोकमा अवस्थित प्रवासी नेपाली मञ्च, बग्दादबाट समेत सहयोग प्राप्त भएको थियो । इराकबाट विदेशी कम्पनी बाहिरिएपछि रोजगारको खोजीमा पुगेका नेपाली अलपत्र पर्ने गरेका छन् । करिव एकदशक यता इराकमा कानुनी प्रक्रिया पुरा नगरेर अलपत्र परेका नेपालीको उद्धारमा नेपाली समुदायले पहल गर्ने गरेका छन् ।

Read This: https://myagdikali.com/154839/