म्याग्दी र रुकुमको सिमानामा ४ रेक्टरस्केलको भूकम्प, जनजिवन प्रभावित

0

म्याग्दी र छिमेकी रुकुम जिल्लाको सिमानामा गएराती ४ रेक्टरस्केलको भूकम्प गएको छ । रुकुममा केन्द्रविन्दु बनाएर भूकम्प गएको भूकम्पको धक्का पश्चिम मंगला, मालिका र धवलागिरी गाउँपालिकामा महसुस भएको थियो । पश्चिम रुकुम सहित आसपासका क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको भूकम्प म्याग्दीको सिमाना आसपासमा हुनसक्ने अनुमान गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । राती विहान १ बजेर ४२ मिनेटमा गएको भूकम्पले पश्चिम म्याग्दीको जनजिवन त्रसित बनाएको थियो । भूकम्पको धक्का महसुस गरिएको मालिका गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले बताईन् ।

‘भूकम्पले त्रसित बनायो, ठुलै भूकम्प गएजस्तै भएको थियो’ विटालुले बेनीअनलाइनलाई भनिन् । भूकम्पको धक्का सदरमुकाम बेनी नजिक रहेका बस्तीहरुमा समेत महसुस गरिएको थियो । सुतिरहेको अवस्थामा जमिन हल्लिएपछि जनजिवन प्रभावित भएको थियो । जमिन हल्लिएपछि सर्वसाधारण घरबाट बाहिर निस्किएका थिए । धना जंगल आसपासमा केन्द्रविन्दु भएको अनुमान गरिएपनि थप जानकारी नआएको मापन केन्द्रले जनाएको छ । आइतबार र सोमबार विहानसम्म मापन केन्द्रमा ४ रेक्टरस्केलभन्दा माथिका पाँचवटा भूकम्प गएको रेकर्ड गरिएको छ ।

भूकम्प मापद केन्द्रका अनुसार धक्का महसुस भएपनि आत्तिनुपर्ने अवस्था नरहेको जनाएको छ । पश्चिम म्याग्दीका साथै छिमेकी रुकुम आसपासको क्षेत्रमा विगतमा पनि ५ रेक्टरस्केलभन्दा तलको भूकम्प गएको र बेलाबेलामा ३ देखी ४ रेक्टरस्केलको भूकम्प गइरहेको छ । पश्चिम म्याग्दीको देविस्थान, ताकम, मुना, मुदी साविकको धौलागिरि अञ्चलमा भूकम्पको जोखिम क्षेत्रमा रुपमा चिनिन्छन् । दुईदशक यताको भूकम्पको केन्द्रविन्दुमा म्याग्दीको देविस्थान, ताकम, मुदीमा ५ रेक्टरस्केलको भूकम्प गएको देखिन्छ । केहीबर्ष अगाडी समेत देविस्थानलाई केन्द्रविन्दु बनाएर ४.३ रेक्टरको भूकम्प गएको थियो ।

भुकम्प विद्का अनुसार भूकम्पको फन्टलाईनमा साविकको धवलागिरी अञ्चलमा म्याग्दी, मुस्ताङ र बागलुङ जिल्ला समेत पर्ने देखिएको छ । तिब्वत क्षेत्रबाट धौलागिरि हिमालको फेद हुदै एउटा फन्टलाइन रहेको बताइन्छ । जसका कारण पश्चिम म्याग्दी र छिमेकी जिल्ला बागलुङमा दुईदशक यता ४ देखी ५ रेक्टरस्केलका भूकम्पको २४ पटक धक्का महसुस भएको मापन केन्द्रको तथ्याङ्कले देखाएको छ । मुस्ताङ र पर्वतको तुलनामा म्याग्दी र बागलुङमा धेरै केन्द्रविन्दु रहेका छन् । दुईदशक यता धौलागिरि अञ्चलमा गएको सबैभन्दा ठुलो बागलुङको बोवाङलाई केन्द्रविन्दु बनाएर गएको ४.९ रेक्टरको भूकम्प हो । जसका कारण तत्कालिन समयमा बोवाङ आसपासका क्षेत्रमा भौतिक क्षती भएको थियो ।