बेनीअनलाइनका संस्थापक सदस्य हरिकृष्ण गौतम सम्मानित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ, मोना यूएईले गरिब तथा विपन्नको उपचार, शिक्षादिक्षाका साथै परोपकारी पत्रकारितामार्फत मानवीय तथा सामाजिक क्षेत्रमा योगदान पु¥याएको भन्दै गौतमलाई सोमबार म्याग्दीमा एक कार्यक्रम गरी सम्मान गरिएको हो । रोजगारको सिलसिलामा यूएईमा पुगेका म्याग्देलीको साझा संस्थाले जिल्लामा समाचारलाई विभिन्न माध्यमबाट विश्वसामु पु¥याउन खेलेको भूमिकाको उच्च मुल्याङ्कन गदैं संस्थाका महासचिव सुवास राम्जाली र सांस्कृतिक उपसमिति सदस्य रुपा मिजारले नगद पाँचहजार ५ सय ५५ रुपैयाँसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

गत अगष्ट १२ गते बसेको मासिक बैठकले सम्मान गर्ने निर्णय गरेको मोना यूएईका महासचिव राम्जालीले बताए । उनले कलमको माध्यमबाट जिल्लाका दुर्गम क्षेत्रमा शिक्षाबाट बन्चित भएका र उपचारमा आर्थिक समस्या भएका विरामीको उपचारमा खेलेको भूमिकाले पत्रकारिताको शीर उच्च बनाएको बताउँदै प्रोत्साहन स्वरुप सम्मान गरिएको बताए । नागरिक दैनिक, न्यूज २४ टेलिभिजनमा कार्यरत छन् ।करिब एकदशक देखि म्याग्दीको पत्रकारितामा सक्रिय रहेका गौतमले सामाजिक तथा परोपकारी पत्रकारितामा कमल चलाउने गरेका छन् । सम्मान कार्यक्रममा परोपकारी संस्था ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्य, लायन्स क्लव बेनी पिससिटीका अध्यक्ष लोकेश पुन लगाएतका सहभागिता रहेको थियो ।