म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दुई वडाका बासिन्दाबीचको वनको सीमा विवाद समाधानका लागि नक्सा संशोधन गर्न सिफारिश गरिएको छ । अन्नपूर्ण गाउँपालिका–१ दोवा र २ भुरुङ तातोपानीका बासिन्दाबीच दुवै वडाको सीमाक्षेत्रमा पर्ने वन र चरन क्षेत्रको उपभोगका विषयमा विवाद भएको थियो । विवाद समाधान गर्न गाउँसभाले नक्सा संशोधन गर्ने निर्णय गरेको छ । विसं २०४६ मा गाविस विभाजन हुँदा दोवाका बासिन्दाले उपभोग गर्दै आएको वन क्षेत्र प्राविधिक त्रूटीका कारण भुरुङ तातोपानीको नक्सामा समावेश भएको विषयलाई लिएर विवाद हुँदै आएको छ ।

सीमा क्षेत्रमा पर्ने बसाधारा, टोड्के, ओरालो खर्क, एकराते, मेलखर्क, चुरुङको वन र चरनलाई दुवै वडाका बासिन्दाले आफ्नो भूगोलमा पर्ने दाबी गर्दै आएका छन् ।विवादित सीमाक्षेत्रको वन उपभोगका लागि दुवै वडाका उपभोक्तालाई समेटेर नयाँ साझा उपभोक्ता समूह गठन गर्ने र हालको नक्सा संशोधन गरी चलनचल्तीमा रहेअनुसार सिमाना कायम गर्न प्रदेश तथा सङ्घीय सरकारलाई सिफारिश गरिएको भुरुङ–तातोपानीका वडाध्यक्ष ओमप्रकाश फगामीले बताउनुभयो। अँधेरीखोल्सा, झगटेभीर, रातोपहरा, देउराली, भसाडाँडा, नाङ्गीडाँडा, घाँटीखर्क, सुर्केमेला, सन्धिखर्क, शिरखर्क र पानीडाक्ने डाँडा हुने गरी नयाँ सिमाना कायम गर्न सिफारिश गरिएको छ । रासस