आफन्तको सम्झनामा गाउँमा पक्की पुल

0
852

म्याग्दीका एक बृद्धले आफन्तको सम्झनामा ब्यक्तिगत लगानीमा गाउँमा पक्की पुल र चौपारी निर्माण गरेका छन् । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ निवासी ७५ बर्षिय सुवेदार जंग बहादुर गर्बुजाले घोप्टेखोलाको जिर्ण पुललाई विस्थापित गरी पक्की पुल र चौपारी बनाएका हुन् । आफ्ना स्वर्गीय हजुरबुबा उदयबीर र बुबा भक्तरामको सम्झनामा रेलिङ सहितको पक्की पुल र चौपारीमा करिव ६ लाख खर्च भएको छ ।

दैनिक आवतजावत गर्ने पुल जिर्ण भएपछि समाजसेवी गर्बुजाले पक्की पुल बनाएपछि आवतजावतमा सहज भएको अन्नपूर्ण यूवा क्लव नारच्याङका अध्यक्ष श्याम पुर्जाले बेनीअनलाइनलाई बताए। ‘स्थानीयको आवश्यकतालाई मध्यनजर गरी ब्यक्तिगत लगानीमै पुल बनाउनुभयो,‘पदमार्ग मर्मतमा पनि खर्च गर्नुभएको छ’ पुर्जाले भने । उनका अनुसार पक्की पुल बनेपछि बेसीगाउँ, खमले, खेम्दी लगाएतका बस्तीका बासिन्दालाई सहज भएको छ । पुल नजिकै चौपारी निर्माण गरिएकाले यात्रुलाई सहज भएको बताए ।गाउँमा विभिन्न सामाजिक संघसंस्थामा समेत आवद्ध रहेका समाजसेवी गर्बुजाले प्रभा माविमा समेत छात्रबृत्ति कोष स्थापना गरेका छन् ।

‘बुढेशकालमा पनि समाजसेवा गर्न पाएको छु,‘गाउँमा अझै धेरै काम गर्ने सोच छ’ गर्बुजाले भने । उनले दिवंगत आफन्तको सम्झनामा स्थानीयबासी र घुम्न आउने पर्यटकलाई सहज होस् भनेर पक्की पुल र चौपारी निर्माण गरेको बताए । उनले निर्माणधिन अवस्थामै रहेकाले लागत केही बढ्ने बताए । भारतीय सेनाबाट अवकाशपछि गाउँको सेवामा सक्रिय रहेका गर्बुजाले नारच्याङमा रहेका सामाजिक संघसंस्थालाई समेत सहयोग गरेका छन् । उनले एक्यापको ब्यवस्थापन समितिको नेतृत्व समेत गरेका थिए । जिर्ण पुल हटाएर पक्की पुल बनेपछि स्थानीयबासी धन्यवाद दिएका छन् ।