सशस्त्र द्वन्द्वको समयमा अपाङ्ग भएर संघर्षपूर्ण जीवन बिताइरहेका व्यक्तिहरुको आज म्याग्दीमा फोटो प्रदर्शनी गरिएको छ । अपाङ्ग संघ म्याग्दी र द्वन्द्वपीडित अधिकार समाज म्याग्दीको संयुक्त आयोजनामा द्वन्द्वमा परेर घाइते भई अपाङ्गता भएका देशभरका १४ जना व्यक्तिहरुको फोटो प्रदर्शन गरिएको हो । विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पुगेको अवसरमा बुधबार दशवर्षे सशस्त्र द्वन्द्वलगायत घटनामा परेर अङ्गभङ्ग भएका नागरिकहरुको जीवनीसहितका फोटो तथा पृष्ठभूमी प्रर्दशन गरिएको थियो । सोही अवसरमा द्वन्द्वको क्रममा अपाङ्ग बनेका व्यक्तिहरुले समाजमा भोगेका कथाव्यथा, पीडा र भोगाइलाई पन्छाउँदै अगाडि बढेका संघर्षका कथाहरु समेटिएको ‘१४ कथाहरु ः युद्धका जीवित स्मृतिहरु भन्ने पुस्तक पनि बिमोचन भएको छ ।

द्वन्द्वका १४ जीवीत स्मृतिहरुको कथा रहेको वृत्तचित्र देशभर प्रर्दशन गरिएको छ । पुस्तकको म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बिमोचन गर्नुभएको थियो । फोटो प्रर्दशनी कार्यक्रममा जिल्लाका सरकारी अधिकारीहरु, जनप्रतिनिधि, क्याम्पस तथा विद्यालयका प्राध्यापक, शिक्षक र विद्यार्थी, सरोकारवाला व्यक्ति एवं संघसंस्थाले सहभागिता जनाएका थिए । फोटो प्रर्दशनीमा देशभरका १४ जनामध्ये म्याग्दीका दुईजना द्वन्द्वपीडितको फोटो कथा समेटिएको छ । २०६० साल चैत ७ गतेको म्याग्दी भिडन्तमा ठूलो धनजनको क्षति भएको थियो । तत्कालीन राज्यपक्ष र विद्रोही पक्षबीच विस्तृत शान्ति सम्झौता २०६३ साल मंसिर ५ गते भएको थियो ।

कार्यक्रममा बोल्दै म्याग्दीका प्रजिअ अधिकारीले अपाङ्गता भएका व्यक्तिहरुलाई आफन्तले मायाममता दिएर पुनसर््थापना गरेको हुँदा समाजमा सकारात्मक सोच लिएर अगाडि बढ्नुपर्ने बताउनुभयो । बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले द्वन्द्वपीडित व्यक्तिहरुलाई स्थानीय तहको तर्फदेखि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । अपाङ्ग संघ म्याग्दीका सचिव सुरेन्द्र केसीले द्वन्द्वकालमा घाइते बनाइएका र अपाङ्गता भएका व्यक्तिहरुको पीडालाई सबैमाझ ल्याउने उद्देश्यले फोटो प्रदर्शनी गरिएको बताउनुभयो । कार्यक्रम अपाङ्ग संघ म्याग्दीका अध्यक्ष गोपाल केसीको अध्यक्षता र सचिव खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।