प्रर्याप्त कमाउने दाउमा कतारमा पुगेका म्याग्दीको मंगला गाउँपालिका–२ बावियाचौरका तेजेन्द्र आचार्यले ज्यानै जाखिममा राखेर काम गरेपनि कमाईबाट सन्तुष्ट हुन सकेनन् । आफ्नो र परिवारको सुखी जीवनको सपना साँचेर कतार र मलेसियामा विताएर फर्किएका आचार्य जस्तै भबिलाल सुबेदी र दल बहादुर नेपालीको पीडा पनि उस्तै छ । धन कमाउने आसमा परिवारदेखि टाढा बस्नुको पीडालाई विर्सिदैं तीनै जनाले गाउँपालिकाको अनुदान र आफ्नै लगानीमा जैविक प्रांगारिक मल उत्पादन केन्द्र स्थापना गरेका छन्। सामुदायिक बनमा फैलिएको बनमारा, बजार क्षेत्रबाट सङ्कलन गरिएको सड्ने फोहोर, पात–पतिंगर लगाएत खेर गएका कच्चा पदार्थ संकलन गरी कम्पोष्ट मल विक्री गर्न गरिएको छ । गतबर्ष जेठ महिनाको अन्तिम साता स्थापना गरिएको प्राङ्गारिक मल उद्योगको तालिम लिएर ब्यवसायीक उत्पादन सुरू गरेका यूवालाई भ्याईनभ्याई छ ।

उद्योग स्थापनाको केहीमहिना परीक्षणको लागि थोरै मात्रामा उत्पादन गरिएपनि पछिल्लो समय जिल्ला बाहिरबाट समेत माग आउन थालेपछि उत्पादनलाई दोब्वर बनाइएको उद्योगका सञ्चालक आचार्यले बताए ।‘गाउँघरमा बाँझै पल्टिएका खेतबारीलाई छोडेर ऋण काढेर विदेका अनुभव मात्रै लिएर फर्किए,‘अब आफ्नै खेतबारीमै पसिना बनाउन उद्योग स्थापना गरेका छौ’ आचार्यले भने ।उनले विदेशबाट सीप सिकेर फर्किएका यूवालाई गाउँपालिकाले तालिममार्फत स्वरोजगार बनाउने अभियानले सहज भएको बताए । बनजंगलमा रसायनिक मल प्रयोग नभएको ‘कुमारी’ माटो, धानको भुस र कोइलाको प्रयोग गरी अस्टे«लियामा प्रयोग हुने ‘सास्गा’प्रविधिको प्रयोग गरिएको उद्योगले एकहप्तामा दुई क्लिन्टलसम्म मल उत्पादन गर्ने गरेको छ ।‘बनमाराको मलको धेरै माग छ,‘बनमाराको मल प्रयोग गरेको ठाउँमा किरा लाग्दैन’ अर्का यूवा दल बहादुर नेपालीले भने ।

उनले स्थापनाकालमै जिल्लाभित्र ५ र पोखरामा ५ क्लिन्टल मल बिक्री भएपछि दैनिक उत्पादन गर्न थालेको बताए ।‘बनपाखोमै पैसा फलेको छ,‘टिप्ने सीप भएर विदेशमा जानुपदैन्’ उनले भने ।१ क्लिन्टल मललाई २५ देखी ३ हजारसम्म विक्री हुने गरेको छ । एउटा मेसिनबाटै उत्पादन भइरहेको अवस्थामा माग अनुसार पु¥याउन हम्मेहम्मे भएपछि सहकारी संस्थाको स्थापना गरी क्षमता विस्तार गर्ने तयारी भइरहेको उद्योग सञ्चालको भनाई छ । एकबर्षमा करिब १० लाख आम्दानी गर्ने योजना सहित मेसिन र बजार विस्तारको योजना बनाएको भबिलाल सुबेदीले बताए । चालु आबमा सुन्तला, तरकारी खेतीमा करिव ५ लाखको मल विक्री भएको उनले बताए । उद्योगले कच्चा पर्दाथ संकलन गर्न रिक्सा र भरियाको प्रयोग गर्ने गरेको छ । गाउँपालिकाभित्र अर्गानिक खेतीमा किसानलाई आर्कषित गराउन गतबर्ष पहिलो चरणमा ४० कृषकलाई तालीम प्रदान गरेको छ ।

‘रासायनिक मललाई विस्थापित गर्ने योजना छ,‘यूवाको उद्योगलाई अनुदान उपलब्ध गराएका छौ’ सतप्रसाद रोकाले भने । उनले कृषिजन्य उत्पादनलाई प्रोत्साहन गर्ने योजना अन्तरगत खेतीयोग्य जमिनको संरक्षण र रासायनिक मलको प्रयोगलाई निरुत्साहित गर्न स्वस्थकर बालीका लागी किसानको घरदैलोमै प्राङ्गारिक मल उद्योग स्थापनाको प्रयास भइरहेको बताए । उनले यो मल हालेपछि यूरिया, डिएपी लगायतका रासायनिक मल हाल्न नपर्ने बताए । माटोको आयु बढाउन र बाँझो खेतमा उन्नतजातको खेतीलाई प्रोत्साहन गर्न न्यून लगानीमा समेत उद्योग स्थापना गर्न सकिने बताए । उनले गाउँपालिका भित्र ब्यवसायीक सुन्तला, अलैचीको खेती समेत हुने गरेको बताए ।

जिल्लामा कृषि उत्पादनको पकेट क्षेत्रको रुपमा समेत मंगलालाई चिन्ने गरिन्छ । उनले हरेक वडामा उद्योग स्थापनाको पहल गरेको बताए। खेतीयोग्य माटोमा बढीमा पाँच प्रतिशत र न्यूनतम तीन प्रतिशतसम्म प्राङ्गारिक प्रदार्थ हुन्छ । यसैबीच प्राङ्गारिक मल उद्योगमा बजारको फोहोर ब्यवस्थापनमा समेत सहज भएपछि प्रदेश नं ५ मा पर्ने प्यूठान नगरपालिका वडा नं ४ का वडा अध्यक्ष प्रकाशराज भण्डारीको नेतृत्वको एक टोलीले स्थलगत भ्रमण समेत गरेको छ । फोहोर ब्यवस्थापनसंगै मनग्य आम्दानी हुने जानकारी पाएपछि वडा अध्यक्ष राजभण्डारीको नेतृत्वमा १५ जनाको टोलीले मल उद्योगको स्थापना, उपयोग, निर्माण र कुहिने फोहोर संकलनमा गरिएको प्रयासलाई आफ्नो वडामा प्रयोग गर्ने जनाएको छ ।