म्याग्दीको बिकासमा वर्तमान सरकारले प्राथमिकता दिएको छ: मन्त्री थापा

0

म्याग्दी जिल्लामा वर्तमान सरकारले प्राथमकिता दिएर बजेट विनियोजन गर्ने महिला, बालबालिका तथा जेष्ठनागरिक मन्त्री थममायाँ पुनले बताएकी छन् । पर्यटन, जलविद्युत, कृषि, उर्जामा नेपालमै सम्भावना भएको जिल्ला भएकाले पनि विभिन्न मन्त्रालयमा पुगेर जिल्लामा सम्भावना र आवश्यकताका बारेमा पटकपटक जानकारी गराएको बताईन् ।

म्याग्दी बचत तथा ऋण सहकारी संस्था, काठमाण्डौको एघारौं बार्षिक साधारणसभाको शुक्रबार उद्घाटन गदैं मन्त्री थापाले सुखी नेपाली, समृद्ध नेपालको अभियानमा सरकारले इमान्दारितापूर्वक काम गरेको बताउँदै विगतका सरकारका विकृतिलाई ब्यवस्थापन गदैं सरकार सञ्चालन गर्नुपर्ने बाध्यताले केही सुस्त देखिएको बताईन् । उनले सरकार गठन लगत्तै संघीय, प्रदेश र स्थानीय तहमा आवश्यक पर्ने कानुन बनाउनुपर्ने समस्याले विकास निर्माण लगाएतका अति आवश्यक क्षेत्रमा सुस्त देखिएको कामलाई सरकारले तिब्रता दिएको बताईन् ।

‘नितिगत काममै धेरै महिना ब्यस्त हुनुपर्यो,‘यो सरकारप्रति जनताको आशालाई निराशामा बदल्न दिन्नौ’ मन्त्री थापाले भनिन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयका गतिविधिलाई नियमित अनुगमन तथा प्रभावकारी बनाउन चासो ब्यक्त गर्नुले पनि सरकारले जनताका समस्यप्रति संवेदनशिल रहेको बताईन्। ‘स्थानीय तहसम्म पुगेको बजेटलाई कार्यान्वयनमा पहल गर्नुहोस्,‘स्थानीय सरकारमा धेरै जिम्मेबारी पुगेको छ’ मन्त्री थापाले भनिन् । उनले आफ्नो मन्त्रालय बजेट बिनियोजनसंग सम्बन्धित नभएपनि विभिन्न मन्त्रालयमा पुगेर जिल्लाका समस्यालाई समाधान गर्ने गरी प्रयाप्त बजेट विनियोजनमा सहजिकरण गरेको बताईन् ।

‘तीनैतहको सरकार मिलेर समृद्ध नेपाल बनाउनुपर्छ,‘जनताबाट पनि सरकारलाई रचनात्मक सहयोगको आवश्यकता छ’ मन्त्री थापाले भनिन् । उनले आफ्नो मन्त्रालयको काम कुल जनसंख्याको ८० प्रतिशत जनतासंग जोडिएकाले पनि बालबालिका, महिला र जेष्ठनागरिकले हालसम्मका कुनैपनि सरकारले नदिएको अधिकार तथा बलात्कारी, हिंसामा संलग्नलाई कठोर कारवाही गरिने बताईन् । ‘बलात्कारीलाई आजिवन जेल हुन्छ,‘महिला हिंसामा संलग्न उम्किन पाउँदैनन्’ उनले भनिन् ।

साधारणसभाको अवसरमा काठमाण्डौ महानगरपालिका १६ वडा अध्यक्ष खेमराज तिवारी, कलाकार नर बहादुर बिसी, बखान बहुउदेश्यीय सहकारी संस्थाकी आशा गुरुङ, नेशनल कोअपरेटिभ एलायन्सका अध्यक्ष डिल्लीराम तिवारी, धौलाश्री बहुउदेश्यीय सहकारीका अध्यक्ष याम श्रेष्ठले शुभकामना मन्तब्य राखेका थिए । साधारण सभाको अवसरमा लोकप्रिय लोकगायक खड्ग गर्बुजा, पुराना सष्टा बिर बहादुर कार्की, नर बहादुर बि.सी, धनकुमारी थापा, गौरी पुन, मन छन्त्याल, टिका बहादुर श्रेष्ठ र काजु शेरचलाई नगद, दोसल्ला, नयाँ सेयर सदस्य, बचतकर्तालाई सम्मान गरिएको थियो । त्यस्तै गतबर्षको एसइईमा संस्थागत विद्यालयतर्फ जिल्ला प्रथम अमिशा परियार, छात्रातर्फ निश्चल जुग्जाली, सामुदायिक विद्यालयतर्फ मुक्तिधाम मावि राखुका अनुपम कटुवाल, बेनी सामुदायी माविका आशिका आचार्य,छात्रातर्फ मुक्तिधाम माविका अर्जुन परियारलाई नगद र सम्मानपत्रले सम्मानित गरिएको थियो । सोही अवसरमा जिल्लाकै उत्कृष्ट अमिशा परियारलाई सहकारीले थप नगद २५ हजारले सम्मान गरिएको थियो । कार्यक्रमको अध्यक्ष थदेवी पुन, स्वागत उपाध्यक्ष कृष्णबहादुर केसी र सञ्चालन दिपबहादुर छन्त्यालले गरेका थिए ।