आरनबाटै मासिक आम्दानी ५० हजार, भन्छन्– ‘विदेश त के पोखरा पनि गएको छैन’

0

टिनको छाप्रो, त्यही छाप्रोभित्र छ सानो आरन । आरनको छेउमा बसेर ट्याकट्याक, टुकटुक पार्न थालेको सयौं दिन बितिसके । अझै कति समय बिताउने हो त्यो थाहा छैन । आरनमा बसेपछि दिन बितेको पत्तै हुँदैन । भोक, तिर्खा पनि लाग्दैन । आरन पेशामै जिन्दगी बिताएका म्याग्दीको बेनी नगरपालिका–५, डडुवाका हर्कबहादुर विश्वकर्माको जाँगर अझै उस्तै छ । सानै उमेरदेखि फलाम र आरनको काम गर्ने सिप सिकेर उहाँले आरन पेशा थाल्नुभएको हो । आरन पेशा आफ्नो बाबुबाजेले गर्दै आएको हुँदा आफूहरुको पुख्र्यौली पेशा भएकाले निरन्तरता दिएको उहाँले बताउनुभयो ।

टिनको छाप्रामुनी रहेको उहाँको आरनमा फलामबाट बन्न सक्ने सबै प्रकारका सामान बन्छन् । नयाँ सामान बनाउने र पुरानालाई मर्मतसम्भार गर्ने काम पनि आरनमै हुन्छ । मानिसलाई चाहिने दैनिक उपभोग्यका सामान बनाउन विश्वकर्मा निक्कै खप्पिस हुनुहुन्छ । उहाँले आफ्नो बाबुसँगै आरनमा बसेर फलामको काम गर्न सिकेको बताउनुभयो । १२ वर्षको उमेरदेखि आरन पेशामा लाग्नुभएका उहाँले आरनको सहयोगमा खुकुरी, बन्चरो, हँसिया, कुटो, कोदालो, थेबे, फाली, छिनो, टुकटुके, दाबे जस्ता दैनिक जीवनमा आवश्यक पर्ने सबै सामान बनाउनुहुन्छ । उहाँले काँचो फलाम किनेर विभिन्न सामानहरु निर्माण गर्दै आउनुभएको छ भने विद्युतको सहायताबाट तिनै फलामका सामानहरु चम्काउने गर्नुहुन्छ । आरन पुरानो भए पनि निकै आकर्षक र लाग्ने खालका सामान बन्छन् ।

विश्वकर्मासँग घरेलु हतियार बन्दुक र नौमती पञ्चेबाजा अन्तर्गतको सनई बनाउने सिप पनि रहेको छ । आरनमा बनेको खुकुरीलाई न्युनतम तीनहजार रुपैयाँदेखि आठ हजारसम्म मूल्य पर्दछ । यसैगरी हँसिया र फालीलाई एक–एक हजार, कोदाली, टुकुटुके एकहजार पाँचसयको दर तथा थेबेलाई १२ सय रुपैयाँ मूल्य पर्ने उहाँले जानकारी दिनुभयो । आरनबाट दैनिक रुपमा चाहिने विभिन्न प्रकृतिका सानादेखि ठूला सामानहरु बन्छन् । आरनमा फलामबाट निर्मित सामान उदाउने (अर्जाब्ने) काम पनि हुन्छ ।

उमेरले ४९औं वसन्तमा घुम्दै गरेका हर्कबहादुर फलामको साथै काठको काम गर्न पनि सिपालु हुनुहुन्छ । काठबाट बन्ने हलो, जुवा, डाँडो, लिँड्को र साओ (मोही) जस्ता सामानहरु बनाउने आफूसँग सिप रहेको उहाँको भनाइ छ । हर्कबहादुरको आरनमा डडुवा गाउँसहित छिमेकी पूर्णगाउँ, चिप्लेटी, नयाँगाउँ, तातोपानी, मिठौला, सिमलचौर, वाखेतलगायत ठाउँबाट ग्राहक पुग्ने गरेका छन् । परम्परागत सिप र प्रविधिमा आधारित आरनमा सामुदायिक वन जङ्गलबाट पैयुँ, गुराँस, हाडेकाफल, मौवा र आरुपाते रुखको सहयोगमा गोल बनाएर आरन सञ्चालन गरिन्छ । वनबाट ल्याएको गोलको सहयोगबाट नै फलामका सामानहरु तिखारिन्छन् र चम्किन्छन् ।

पाँच जनाको परिवार रहेको विश्वकर्माले आरन पेशाबाटै परिवारको गुजारा चलाउने गरेको बताउँदै डडुवाको अधिकांश गाउँलेबाट आरनको काम गरेवापत उहाँले अन्नपात लिने गर्नुभएको छ । अन्य ठाउँबाट सामान बनाएको र अर्जाबेवापत ज्याला लिने गरेको उहाँले बताउनुभयो ।गाउँभन्दा बाहिरबाट फलामका सामान बनाएको तथा मर्मत गरेर महिनामा ३५ हजार कमाई हुनेहुँदा २० हजार बढी अन्नपातबाटै सङ्कलन हुने उहाँ बताउनुहुन्छ । एक दर्जन हँसिया अर्जाबेवापत पाँचसय रुपैयाँ लिनुहुन्छ ।विदेश नगए पनि विश्वकर्माले आरन पेशाबाटै परिवार धान्नुभएको छ । उहाँले छोरालाई पनि आरनको काम सिकाउन भन्दै बाबुछोराको छुट्टाछुट्टै आरन चलाउनुभएको छ । सानै उमेरमा पल्टन जाने भने पनि जान नपाएको भन्दै उहाँले यत्रो उमेर भैसक्दा समेत आफू अझै पोखरा पनि नगएको खुलासा गर्नुभयो ।