म्याग्दीको सदरमुकाम बेनीमा मंगलबारदेखि सुरु भएको १७ औ अन्तर मावि जेसीज कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा न्यू वेष्ट पोइन्ट आवासीय माविले विजय सुरुवात गरेको छ । गतबर्षको विजेता वेष्ट पोइन्टले मंगला गाउँपालिका ३ बरंजाको महेन्द्ररत्न माविलाई ९ गोल प्रहार गरेको छ । खेलको दुई मिनेटमै एक गोल गदैं अग्रता लिएका वेष्ट वोइन्टका खेलाडीले लगातार गोल गदैं खेलमा हावी भएका थिए । घरेलु मैदान, नियमित अभ्यास, अनुभवी खेलाडीले भरिएको वेष्ट पोइन्टका क्याप्टेन टिपेन पुन म्यान अफ दि म्याच घोषित भए ।

विद्यालयस्तरका साथै ब्यवसायीक खेलाडीसंग समेत खेल्ने मनिस श्रेष्ठ, टिपेन पुन लगाएतका खेलाडीले पहिलोपटक खुल्लामञ्चमा सहभागी हुन आएको महेन्द्ररत्न माविका खेलाडीलाई दवावमा राखेका थिए । महेन्द्ररत्नका खेलाडीले समेत आफ्नो खेल प्रर्दशन गदैं केही गोल गर्ने मौका गुमाएका थिए । नियमित अभ्यास र खेलमा सहभागी हुने मैदानका कारण वेष्ट पोइन्टका खेलाडीलाई सहज भएको थियो । प्रतियोगिताको दोस्रो खेल गतबर्षको उपविजेता माउण्ट एभरेष्ट आवासीय मावि र बुद्ध एकेडेमी बिच जारी छ ।

मंगलबार चार खेल हुने जेसीज कपका प्रबक्ता सुजन बरुवालले जानकारी दिए । प्रतियोगितामा १६ विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगिताको बिजेतालाई जेसीजकप, ट्रफि, मेडल, प्रमाण–पत्र र नगद ४० हजार तथा उपबिजेतालाई ट्रफि, मेडल, प्रमाण–पत्र र नगद २५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको म्याग्दी जेसीजका प्रतियोगिताका संयोजक जेसीजका महासचिव विरेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार आगामी मंसिर १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको आर्थिक, व्यवस्थापकीय, प्रचारप्रसार, पूर्वाधार निर्माण लगायतका तयारी सकिएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, डिफेण्डर, सर्वाधिक गोलकर्ता, अनुशासित टिमलाई पाँच हजार पाँच सय र प्रशिक्षक, मिडफिल्डर, स्ट्राइकर, गोलरक्षक र प्लेयरलाई एक हजार पाँच सय रुपैयाँ नगद, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ ।