१७ औ अन्तर मावि जेसीज कप फुटबल प्रतियोगिताको एक कार्यक्रम गरी उद्घाटन गरिएको छ ।म्याग्दी जेसीजको सचिवालयमा जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र बहादुर कटुवालले प्रतियोगिताका अफिसियल संयोजक सिद्धार्थ शाक्यलाई खेल साम्रागी हस्तान्तरण गदैं खेलको उद्घाटन गदैं जिल्लाभित्र हुने खेलकुद गतिविधिलाई तीनै तहका सरकारसंग आवश्यकता अनुसार बजेट सहित संरचनाका लागि पहल गर्ने बताए । विद्यालयस्तरमा लोकप्रिय प्रतियोगिताबाट स्थानीय तथा राष्ट्रियस्तरका खेलकुद प्रतियोगितमा सहभागि हुने गरी खेलाडीको उत्पादन गरेको कार्यक्रमका बक्ताले बताएका थिए । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णबहादुर विश्वकर्माले खेलाडीको सबैभन्दा ठुलो सम्पत्ती अनुशासन भएकाले नियम उल्लंघन गर्ने खेलाडीको खेलकुदमा भविस्य नभएको बताए ।

उनले जिल्लामा जेसीज कपले आफ्नो छुट्टै पहिचान बनाएको बताउँदै सामुदायिक तथा नीजि विद्यालयमा रहेका खेलाडीको पहिचानमा सहज भएको बताए । म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेश कुमार श्रेष्ठले कालिगण्डकी नदीको कटानले सचिवालय ने जोखिममा परेको बताउँदे राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिलाई गोलरक्षकको भूमिका निर्वाह गरी नदी कटानबाट बजार क्षेत्रलाई जोगाउन अपिल गरेका थिए । सोही अवसरमा नेपाली कांग्रेस म्याग्दीमा उपसभापति माधवप्रसाद रेग्मीले खेलकुदको क्षेत्रमा जिल्लामा क्रियाशिल राजनीतिक दलले सहकार्य गरी बजेट बिनियोजनका साथै प्रोत्साहनका कार्यक्रमहरु गर्ने बताए ।

उनले जिल्लाबाट राष्ट्रियस्तरमा समेत खेलाडीको उपस्थिती बढ्दै जान थालेको अवस्थामा खेलकुद क्षेत्रमा स्थानीय तहबाट समेत प्रयाप्त बजेट दिनुपर्ने बताए । उद्घाटन कार्यक्रममा राप्रपाका जिल्ला अध्यक्ष बीरबहादुर थापा, प्रहरी निरिक्षक लोक बहादुर गुरुङ, सन्तोष स्मृति कोषका संरक्षक श्यामप्रसाद श्रेष्ठ, टाइटल स्पोन्सर हुवावे मोवाइलका प्रतिनिधि प्रविण घिमिरे, नेपाल जेसीजका पूर्व सिनेटर धनञ्जय कुमार श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो । १८ वटा उपसमिति गठन गरेर तयारी गरिएको प्रतियोगिताको सम्पूर्ण तयारी समेत पुरा भएको अध्यक्ष कमल विश्वकर्माले बताए ।

प्रतियोगितामा १६ विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगिताको बिजेतालाई जेसीजकप, ट्रफि, मेडल, प्रमाण–पत्र र नगद ४० हजार तथा उपबिजेतालाई ट्रफि, मेडल, प्रमाण–पत्र र नगद २५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको म्याग्दी जेसीजका प्रतियोगिताका संयोजक जेसीजका महासचिव विरेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार आगामी मंसिर १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको आर्थिक, व्यवस्थापकीय, प्रचारप्रसार, पूर्वाधार निर्माण लगायतका तयारी सकिएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, डिफेण्डर, सर्वाधिक गोलकर्ता, अनुशासित टिमलाई पाँच हजार पाँच सय र प्रशिक्षक, मिडफिल्डर, स्ट्राइकर, गोलरक्षक र प्लेयरलाई एक हजार पाँच सय रुपैयाँ नगद, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ । करिव सात लाख ६८ हजार रुपैयाँ बजेट खर्च हुने अनुमान गरिएको प्रतियोगितामा सन्तोष स्मृति अक्षयकोष मुख्य प्रायोजक गरेको छ ।

बेनपा–८ घरभई शिक्षाको सिलसिलामा यूकेमा मृत्यु भएका पूर्व खेलाडी सन्तोष श्रेष्ठको स्मृतिमा उनका परिवारले दुई लाख पचास हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका छन्। विगतमा आर्थिक सहयोग संकलन गरी पुरस्कारको प्रायोजन गर्नुपर्ने अवस्थामा यसबर्ष विभिन्न कम्पनीले समेत सहयोग गरेकाले सहज भएको म्याग्दी जेसीजले जनाएको छ । प्रतियोगिताको उद्घाटन कार्यक्रमको अध्यक्षता अध्यक्ष विश्वकर्मा, स्वागत कार्यकारी उपाध्यक्ष भरत बहादुर रकाल र सञ्चालन महासचिव विरेन्द्र श्रेष्ठले गरेका थिए ।