म्याग्दीको बेनी नगरपालिका–१, रत्नेचौरमा सोमबार सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा महिलाहरुको घुइँचो लागेको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा बेनी नगरपालिकाको स्वास्थ्य शाखाको आयोजना र लायन्स क्लब अफ म्याग्दी दोभानको सहआयोजनामा शिविर सञ्चालन गरिएको हो । शिविरको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले ग्रामीण भेगका महिलाहरुलाई लक्षित गरेर निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हुँदा सेवा लिन आग्रह गरेकी थिइन् ।

उनले महिलाहरु विविध किसिमका रोगहरुबाट ग्रसित रहेको भन्दै समयमै उपचार गरेर स्वास्थ्यलाभ लिनुपर्ने बताइन् । नगरपालिकाका स्वास्थ्य संयोजक लिला गौतमले रोग लुकाएर नबस्न महिलाहरुलाई आग्रह गरेकी छिन् । कार्यक्रमको अवसरमा रत्न बहुउद्देश्यीय सहकारी संस्था रत्नेचौरले स्वास्थ्यचौकीलाई एक थान कम्प्युटर सेट सहयोग हस्तान्तरण गरेको छ । उक्त सामान नगरपालिका उपप्रमुख बरुवाल र वडा अध्यक्ष टेकबहादुर रावलले स्वास्थ्यचौकी व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका थिए । शिविरमा अन्ष्टेट्रिक फिस्टुला र पाठेघर खस्ने रोगीको स्क्रिनिङ, रिङ पेशरी तथा भिआइए जाँचसम्बन्धी निःशुल्क रुपमा शिविर आयोजना गरिएको आयोजकले जनाएका छन् ।

शिविरमा ८० जना महिलाको स्वास्थ्य परीक्षण गरिएको छ भने ३ जनालाई रिफर गरिएको स्वास्थ्य संयोजक गौतमले बताइन् । बेनपा–१, का वडा अध्यक्ष टेकबहादुर रावलको अध्यक्षता, रत्नेचौर स्वास्थ्यचौकीका प्रमुख दिनेश जिसीको सञ्चालन र लायन्स क्लब अफ म्याग्दी दोभानका अध्यक्ष अम्बिका श्रेष्ठको स्वागतमा सम्पन्न कार्यक्रममा लायन्सका पदाधिकारी, स्वास्थ्यकर्मी, पत्रकार र स्थानीयको सहभागिता रहेको थियो ।