१७ औ अन्तर मावि जेसीज कप फुटबल प्रतियोगिताको पहिलो दिनका खेलमा गतबर्षका विजेता र उपबिजेताले बिजयले अग्रता लिएका छन् । मंगलबार देखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा न्यू वेष्ट पोइन्ट आवासीय माविले महेन्द्ररत्न माविलाई ०–९ गोल प्रहार गरेको थियो । घरेलु मैदान, अनुभवी खेलाडी र नियमित अभ्यासमा रहेका वेष्ट पोइन्टका खेलाडीले खेल सुरु भएको दुई मिनेटमै अग्रता लिएका थिए । त्यस्तै दोस्रो खेलमा माउण्ट एभरेष्ट आवासीय माविले बुद्ध एकेडेमीलाई ० –२ गोल प्रहार गरेको छ ।

निकै प्रतिस्पर्धात्मक खेलमा माउण्टका खेलाडीले समय समयमा रणनीति परिवर्तन गरेका थिए । वेष्ट पोइन्ट र माउण्ट गतबर्षका क्रमश विजेता र उपबिजेता हुन् । त्यस्तै तेस्रो खेलमा बेनी सामुदायिक माविले लोकदिप आवासीय माविलाई १–३ गोल गरेको म्याग्दी जेसीजका प्रबक्ता सुजन बरुवालले बताए । उनका अनुसार पहिलो दिनको अन्तिम खेलमा पश्चिम म्याग्दीको केवी एकेडेमीले भिम माविलाई २ गोल गरेको थियो । प्रतियोगिताको पहिलो दिन सम्पन्न ४ खेलमा तीन निजी र एक सामुदायिक विद्यालयले दोस्रो चरणमा प्रवेश गरेका छन् । विद्यालयस्तरमा निकै लोकप्रिय मानिने प्रतियोगितामा सदरमुकाम बेनीका साथै ग्रामिण क्षेत्रबाट समेत खेलाडीको उपस्थिति रहेको छ ।

प्रतियोगितामा १६ विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगिताको बिजेतालाई जेसीजकप, ट्रफी, मेडल, प्रमाण–पत्र र नगद ४० हजार तथा उपबिजेतालाई ट्रफि, मेडल, प्रमाण–पत्र र नगद २५ हजार रुपैयाँ पुरस्कार रहेको छ । आगामी मंसिर १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा उत्कृष्ट खेलाडी, डिफेण्डर, सर्वाधिक गोलकर्ता, अनुशासित टिमलाई पाँच हजार पाँच सय र प्रशिक्षक, मिडफिल्डर, स्ट्राइकर, गोलरक्षक र प्लेयरलाई एक हजार पाँच सय रुपैयाँ नगद, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ ।