चरम गरिबीका कारण परिवारलाई लालनपालनमा मुस्किल भएपछि घरभित्रै आत्महत्या गरेका बेनी नगरपालिका–६ भरालेका तुल बहादुर बानियाँको परिवारलाई सिद्धार्थ बैंक बेनी शाखाका कर्मचारीले आर्थिक सहयोग गरेका छन् । तीनबर्ष अगाडी घरभित्रै भान्छा कोठाको छेउमा डोरीले पासो लगाएर आत्महत्या गरेपछि छिमेकीलाई मागेर गुजारा चलाइरहेकी बानियाँलाई ८ हजार २ सय सहयोग गरिएको शाखा प्रबन्धक गणेश पाठकले बताए । ‘उहाँको समस्यालाई समाधान गर्न हामीले सानो सहयोग गरेका छौ,‘समस्यामा परेकालाई सहयोग गर्नु मानवीय जिम्मेबारी हो’ पाठकले भने ।

उनले बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीले बानियाँले आवश्यकता अनुसार प्रयोग गर्ने गरी बैंकमै रहेको उनको खातामा जम्मा गरेको बताए । श्रीमानको मृत्युपछि विचल्लीमा परेको समाचार बेनीअनलाइन लगाएतका संचारमाध्यमले प्रमुख प्राथमिकतका साथ समाचार प्रकाशित गरेपछि सुरु भएको आर्थिक सहयोग अभियानको क्रममा सिद्धार्थ बैंक बेनी शाखामा सिताकै नाममा खाता खोली अभियान सुरु गरिएको थियो । गाउँमा सुकुम्बासी जीवन विताइरहेकी बानियाँलाई स्थानीय सुन्दर बानियाँको संयोकत्वमा जग्गा र घर बनाउने अभियान सञ्चालन गरिएको छ । सिताका तीनछोराछोरीलाई बहुराष्ट्रिय कम्पनी शिखर अर्गनाइजेशनले सदरमुकाम बेनीको माउण्ट एभरेष्ट आवासीय माविमा आवासीय सुविधा सहित उच्च शिक्षासम्मको सुविधाको ब्यवस्था गरेको छ ।