स्थानीय प्रविधिको प्रयोग गरी निर्मित पुललाई पुरानै स्वरुपमा मर्मत गरिने ( भिडियो)

0

सयौंबर्ष अगाडी मानवनिर्मित स्थानीय प्रविधि र उपकरणको प्रयोग गरी म्याग्दी खोलामा बनाइएको झोलुङ्गे पुलको पुरानै स्वरुपमा मर्मत गरिने भएको छ । तत्कालिन समयमा म्याग्दीको सदरमुकाम बेनी मंगलाघाटबाट ज्यामरुककोट जोड्ने ऐतिहाँसिक पुल जिर्ण भएपछि पुरानै काठ र साङ्ले लठालाई मर्मत गरी प्रयोगमा ल्याइने भएको छ । बेनी नगरपालिका वडा नं २ र ७ जोड्ने पुल मर्मत सम्भार नहुदाँ आवतजावतमा समस्या भएपछि बेनपा–७ को पहलमा मर्मत सुरू गरिएको वडा अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले बताए । वि.स. १९४४ सालमा स्थानीय प्रविधि र स्रोत साधनलाई प्रयोग बनाइएको पुलको मर्मतसम्भारका लागी विज्ञ सहितको टोलीले स्थलगत अनुगमन गरी पुरानै स्वरुपमा मर्मत गर्न सुझाव दिएको अध्यक्ष श्रेष्ठले बताए ।

करिव १३१ बर्ष पुरानो पुलबाट दैनिक आवतजावत गर्ने गरिएपनि पुराना काठ र लठा समेत चुडिने अवस्थामा पुगेपछि मर्मतको प्रयास गरिएको थियो ।‘बेनीमा मानवबस्तीको विस्तारसंगै यो पुल बनेको थियो,‘तत्कालिन समयमा पश्चिम म्याग्दीलाई जोड्न करिव एक मात्रै पुल थियो’ पुल नजिकै घर भएका जेष्ठ नागरिक नयनकुमार श्रेष्ठले भने । उनका अनुसार तत्कालिन समयमा बागलुङ गलकोटका लालप्रसाद शेरचनले काँचो फलाम र पश्चिम म्याग्दीको रुममा स्थानीयले पुलमा प्रयोग गरेका साम्रागी र सीपलाई प्रयोग गरी पुल हालेको बताए ।ग्रामिण क्षेत्रबाट पशुचौपाया, खाद्यान्न साम्रागी, बजारमा आवतजावत गर्न प्रयोग गर्ने पुल बनेसंगै मंगलाघाट बेनीकै प्रमुख ब्यापारिक केन्द्र समेत बनेको उनले बताए । करिव चारदशक सम्म मंगलाघाटको ब्यापारको प्रमुख कारण पुल भएको स्थानीय बृद्धबृद्धाको भनाई छ ।

काँचो फलामलाई गोलमा तताएर कुटेर साङ्ले लठा बनाएर जोखिमपूर्ण तरिकाले खोलामा हालिएको बताउँदै प्राचिनकालको झल्को दिने गरी पुलको मर्मत गर्नुपर्ने बताए। माथि र तल गरी दुई वटा साङ्ले लठामा फलामको पाता राखेर एउटा काठको फल्याक मात्रै राखेर वारपार गर्ने झोलुङ्गे पुलबाट ज्यारुमककोट, भकिम्ली, बरंजा, अर्जम, निस्कोट,दरबाङ, रुमका साथै छिमेकी जिल्ला बागलुङ जाने सर्वसाधारणले प्रयोग गर्ने गरेका थिए । ग्रामिण क्षेत्रमा सडक विस्तारसंगै करिव प्रयोगविहिन जस्तै भएको पुललाई स्थानीयको पहल र वडा कार्यालयले सक्रियता देखाएर बजेट विनियोजन गरेपछि नगरपालिकाले चासो देखाएको निमित्त प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुवेदीले बताए ।

‘म्याग्दीकै पुरानो मध्य पर्छ,‘यो पुल बजार र गाउँ जोड्ने पुरानो पुल हो’सुबेदीले भने ।उनले पुलको मर्मतका लागी टिबिएसयु पोखराका इन्जिनियर सतिस राई, क्षत्रीय प्रविधि सहयोग प्रदायक (आरटिएपि)का प्राविधिक संयोजक नरबहादुर सम्बाहम्फे, प्राविधिक अधिकृत श्रीधर भण्डारीले स्थलगत रुपमै पुगेर दिएको सुझावका आधारमा मर्मत गरिने बताए ।पुल मर्मतमा वडा कार्यालयबाट ३ लाख बजेट विनियोजन गरेको गरिएको छ ।‘नयाँ संरचनामा भार ठेग्न सक्दैन्,‘पुरानै आकारमा मर्मत गर्नुपर्छ’इन्जिनियर राईले भने । उनले सयबर्ष अगाडी निर्मित पुललाई भत्काएर नयाँ बनाउनुभन्दा मर्मत गर्नु प्राविधिक हिसावले राम्रो हुने बताए । पुललाई संरक्षण गरी आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित तथा लभ्लीहिलसम्म जाने बाटो मर्मत गर्नुपर्ने स्थानीय अगुवा सुवासकुमार श्रेष्ठले बताए । पुल मर्मतको खवरले मंगलाघाट र ज्यामरुककोटको बाङ्गेराबासी उत्साहित भएका छन् । यसैबीच खुल्लामञ्च विस्तार गर्ने खुलामञ्चदेखि खवरा तर्फ जाने झोलुङ्गे पुललाई समेत स्थानान्तरणका लागी २४ लाख बजेट विनियोजन भइसकेको छ ।