जेसीज कप फुटबलः पहिलो चरणका खेल सकिए

१७ औ अन्तर मावि जेसीज कप फुटबल प्रतियोगिताको पहिलो चरणका खेल सकिएको छ । बुधबार चार खेल सम्पन्न भएको छ । प्रतियोगिताको पहिलो खेलमा बेनपा ४ सिंगाको धौलागिरी माविले म्याग्दी एकेडेमीलाई १–३ गोल प्रहार गरेको थियो । दुवै एउटै वडाका विद्यालय हुन् । प्रतियोगितामा उपाधीको दावेदार मानिएको धौलागिरी माविका खेलाडीले निरन्तर आफ्नो दवावमा राखेका थिए । त्यस्तै प्रतियोगिताको दोस्रो खेलमा बेनी आवासीय माविले जामुनाखर्क माविलाई १–४ गोल प्रहार गरेको थियो । एक गोल गदैं अग्रता लिएको बेनी आवासीयलाई केही मिनेटपछि एक गोल गदैं बराबरी खेल खेलेपनि जामुनाखर्कका खेलाडी बीच मैदानमा तालमेल देखिएन् ।

खेलाडी बीच तालमेल नहुनु र गोल रक्षकको कमजोरीलाई बेनी आवासीयका खेलाडीले सदुपयोग गदैं पहिलो हाफ मै २ गोल गदैं अग्रता लिएका थिए । खेलको दोस्रो हाफमा थप दुई गोल गदैं दोस्रो चरणमा प्रवेश गरेका थिए । जेसीज कपमा पहिलोपटक सहभागिता जनाएको जामुनाखर्कका खेलाडीले समेत बराबारी खेल्ने निकै प्रयास गरेका थिए । बुधबार लिटल गार्डेन एकेडेमीले बालमन्दिर आधारभुत विद्यालय कालिपुललाई १–४ गोल र प्रकाश माविले पर्वत बेनीका होराईजन आवासीय माविलाई १ का विरुद्ध ४ गोल प्रहार गरेको थियो ।

प्रतियोगिताको पहिलो चरणमा सम्पूर्ण खेल सकिएको अध्यक्ष ईन्जिनियर कमल विश्वकर्माले बताए । उनका अनुसार प्रतियोगिताको दोस्रो चरणको खेल बिहिबार विहान ८ बजे देखि सुरु हुन्छ । प्रतियोगिताको टेक्नोमाइन इन्टरनेटको सहकार्यमा बेनीअनलाइनले प्रत्यक्ष प्रशारण गरिरहेको छ । प्रतियोगितामा १६ विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगिताको बिजेतालाई जेसीजकप, ट्रफी, मेडल, प्रमाण–पत्र र नगद ४० हजार तथा उपबिजेतालाई ट्रफि, मेडल, प्रमाण–पत्र र नगद २५ हजार रुपैयाँ पुरस्कार रहेको छ । आगामी मंसिर १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा उत्कृष्ट खेलाडी, डिफेण्डर, सर्वाधिक गोलकर्ता, अनुशासित टिमलाई पाँच हजार पाँच सय र प्रशिक्षक, मिडफिल्डर, स्ट्राइकर, गोलरक्षक र प्लेयरलाई एक हजार पाँच सय रुपैयाँ नगद, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ ।