सडकले नास्यो सम्पदा

0
250

कुनै समय थियो, बटुवाहरु यात्राका क्रममा रात प¥यो भने ठाँटीमा बास बस्ने गर्दथे । अहिलेका जस्ता ठाउँठाउँमा होटल र लजहरु थिएनन् । ढुङ्गेधाराको चिसो पानी पिएर प्यास मेटाइन्थ्यो । त्यतिवेला न अहिलेको जस्तो फ्रिजको जमाना थियो न त बरफ नै पाइन्थ्यो । गर्मीहुँदा लेक बेसी र दोबाटोमा रहेका चौतारीहरुमा बसेर चिसो हावा लिँदाको आनन्द बेग्लै हुन्थ्यो । तर, अहिले ती सबै कुराहरु एकादेशको कथामा परिणत हुँदै गएका छन् ।

२०६५ सालयता म्याग्दीका ग्रामिण क्षेत्रमा सडक विस्तारले व्यापकता पाएसंगै जिल्लाका मौलिक सम्पदाहरु नास भएर गएका छन् । मौलाउँदो डोजर संस्कृति र डोजर चालक नै इन्जिनियर बनेर विना सर्भे र योजना खडक खनिदा ग्रामिण क्षेत्रमा इतिहाँसको साक्षी बनेर रहेका ऐतिहाँसि पाटी—पौवा भत्काइएको छ भने चौतारी र पोखरीहरु पुरिए पछि ग्रामिण सौन्दर्य नै हराएको छ ।

सडक सुविधाको पहुँच बिस्तारसँगै ऐतिहाँसीक महत्वका पाटी, पौवाहरूको अस्तित्व संकटमा परेको छ । सडक र होटल सुबिधा नभएको समयमा वटुवा र तिर्थयात्रीहरूका लागि म्याग्दीका विभिन्न ठाउँमा निर्माण गरिएका पाटीपौवाहरू संरक्षणको अभावमा संकटमा परेका हुन् ।

जिल्लाको बिभिन्न ठाउँमा रहेका एक सय वटा भन्दा बढी यस्ता पाटी पौवाहरूको अस्तित्व संरक्षण र उपभोगको अभावमा संकटमा परेका जेष्ठ नागरिक सेवा समाज म्याग्दीका अध्यक्ष नैनकुमार श्रेष्ठले बताउनुभयो । त्यसैगरी बेनपा ९ गलेश्वरका पं भीमनाथ पराजुलीले यात्रुहरुको सुविधाका लागि बनाइएका पाटी पैवा र चौतारीहरु पछिल्लो समय सडक विस्तारका नाउँमा भत्काइनु आफ्नो मौलिकतामाथि प्रहार गर्नु हो भन्नुभयो । उहाँका अनुसार विश्वप्रसिद्ध मुक्तिनाथ मन्दिर प्रवेशद्धारको रूपमा चिनिने म्याग्दीको सदरमुकाम बेनी देखि मुस्ताङको सिमानासम्मको पुरानो बाटोमा रहेका दर्जनौं पाटी पौवाहरू लोप भइसकेका छन् ।

मोटरबाटो र होटलहरूको बिकास हुने क्रमसँगै पाटीपौवा भत्काइने क्रम बढेको ताकमका वयोवृद्ध बृद्धीप्रसाद सुवेदीले बताउनुभयो । परिवर्तीत समयअनुसार ग्रामिण पहिचान झल्काउने यस्ता सम्पदाहरूको संरक्षण गर्न सरोकारवालाले चासो नदिएको उहाँको गुनासो छ ।

‘ग्रामिण पहिचान झल्काउने पाटीपौवाहरू अहिले उपभोग हुन नसकेपछि भविष्यमा यसको महत्व हुनसक्छ’ सुवेदीले भन्नुभयो । पुण्य कमाउनका लागि सामाजिक काम गर्न पाटीपौवा र चौतारी निर्माण गर्ने चलन छ । पहिले बाटोमा होटलहरू थिएनन् । पाटीपौवाहरूमा बास बस्ने चलन थियो । सुवेदी भन्नुहुन्छ, ‘ठाँटीमा बास बस्ने चलन हराएपनि यस्ता सम्पदाहरूको संरक्षण हुन जरुरी छ ।’———