जेसीज कप फुटबलः न्यु वेष्ट पोइन्ट सेमिफाइनलमा

गतबर्षको डिपेन्डिङ च्याम्पियन न्यु वेस्ट पोइन्ट आवासीय मावि जारी १७ औ अन्तर मावि जेसीज कप फुटबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । बिहिबार सम्पन्न पहिलो खेलमा बेनी सामुदायिक माविलाई १ का विरुद्ध २ गोल प्रहार गदैं सेमिफाइनलको यात्रा तय गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा वेष्ट पोइन्टबाट टिपेन पुन र प्रेम बुढाथोकीले गोल गरेका थिए । प्रतियोगितामा क्वाटरफाइनलबाटै बाहिरिएको बेनी सामुदायिकको तर्फबाट राजिब थापाले एक गोल गरेका थिए ।

निरन्तरको अभ्यास, अनुभवी तथा ए डिभिजन खेलमा सहभागि खेलाडीसंग समेत खेल्ने वेष्ट पोइन्टका टिपेन पुनको खेलमैदान भित्रको रणनीतिले समेत सेमिफाइनलसम्मको यात्रालाई सहज भएको थियो । बेनीमा क्लबबाट समेत खेलमा सहभागी हुने गरेका पुन सहित वेष्ट पोइन्टमा निरन्तर अभ्यास सहित खेलकुदमा सहभागी हुने खेलाडी छन् । यता सामुदायिक विद्यालय शैक्षिक सहित खेलकुद क्षेत्रलाई समेत प्राथमिकता दिएको बेनी सामुदायिका खेलाडीको खेल उत्कृष्ट भएपनि तालमेलको अभाव देखिन्थ्यो ।

विपक्षीलाई रोक्न सक्ने तर, योजनाबद्ध खेलको कमीले क्वाटरफाइनलबाट बाहिरिएपनि खेलमा बेनी सामुदायिकका खेलाडीले गतबर्षका विजेतालाई पराजित गर्ने प्रयासका साथ मैदानमा उत्रिएका थिए । जाडो मौसममा घाम ताप्दै खुल्लामञ्चमा खेल हेर्नेको भीड समेत देखिन्थ्यो । यसैबीच यो समाचार तयार पर्दासम्म गतबर्षको उपविजेता माउण्ट एभरेष्ट आवासीय मावि र दरवाङको केवी एकेडेमी बीच खेल भइरहेको छ । खेलमा केवी एकेडेमीले पहिलो हाफमा एक गोलको अग्रता लिएको छ । बिहिबार क्वाटरफाइनलका खेल सकिने अध्यक्ष कमल विश्वकर्माले बताए