वेष्ट पोइन्टका छात्राको “मलाइ पनि केहि कुरा भन्नु छ” अभियान

0
639

“स्कुलबाट घर जादै थिएँ बजारबाट अल्ली पर पुगे पछी एउटा बाइक मेरो छेउमा आएर रोकियो । आइज मैले घर सम्म पुर्याईदिन्छु भन्यो अनि चिनेकै दाइ त हुन् एकै ठाउँमा पुग्ने हो क्यारे भनेर बाइकमा चढें तर अल्ली पर पुगेपछि बाइक रोके मैले किन रोक्नु भयोर ? भनेर सोधें उसले एक छिन बस भन्यो अनि छाडा कुरा बोल्न थाल्यो ।

मलाइ डर लाग्यो अनि म रुँदै दौडिएँ तर पछि उसले केहि नबोली घर पुर्याइदियो मैले उसको आसय बुझें उ राम्रो नियत भएको मान्छे रहेनछ । चिनेकै दाई भनेर के गर्ने उसको मन भित्र गलत सोच रहेछ तर पछी यस्तै ब्यबहार गरेका कारण ३ महिना जेल सजायं भोगिसकेको छ” उनले भक्कानिएर यस्ता कुरा गर्द हलमा सहभागी अन्य साथीहरु र शिक्षक शिक्षिका पनि बरर आँसु झारे।

“बाबा विदेश हुनुहुन्छ । आमाले घरमै सानो पसल संचालन गर्नु भएको छ । कहिलेकाहीं आमालाई पालो दिन म र बहिनि पसलमा बस्ने गर्दछौं । पसलमा धेरै थरिका मान्छे आउने गर्दछन । हाम्रो पसलमा एकजना यस्ता ग्राहक आउछन उनि प्राय म भएको बेलामा चुरोट किन्न आउदछन तर धेरै बेर बसेर के के कुरा गर्छन । उनि उमेरले ४५ काटेका हुन् तर उनको ब्यबहार देख्दा अचम्म लाग्छ । उनका हरेक कुरामा यति घिनलाग्दो सोच र भाव देखिन्छ कि मैले प्रस्टै बुझ्दछु ।

कहिलेकाहीं म पनि झर्किएर भन्छु “अंकल हजुरलाई यो उमेरमा यस्ता कुरा गर्न लाज लाग्दैन” अनि जान्छन मेरो बहिनी अल्ली सानी छिन उनिसंग पनि त्यस्तै ब्यबहार गर्दा रहेछन । बहिनीले भने पछी थाहा पाएँ मानिसलाई उमेर र उसको लवाइ खवाईले बुझ्न नसकिने रहेछ । म त बुझ्ने भएकी छु यस्ता मान्छेले अरु केटीहरुलाई कस्तो ब्यबहार गर्दा हुन ? किन हामी केटीहरुलाई हेर्ने दृष्टिकोण यस्तो हुन्छ ? उनले भाबुक हुँदै भनिन ।”

“स्कुल मै मिन्स (महिनावारी) भयो भने त तुरुन्तै मेडिकल जान्छौं तर घरमा भयो भने घरबाट सेनेटरी प्याड बोकेर लैजानु पर्छ तर कक्षा कोठामा केटाहरुले तेरो खाजा के छ ? भनेर झोला खोतलेर हेर्न खोज्दछन हामीले दिदैनौ तर हामी नभएको बेलामा खोलेर हेर्ने गर्दछन अनि प्याड निकालेर जिस्क्याउछन कक्षा ६ मा पढ्ने एक छात्राले भनिन ।”

“कहिलेकाहीं घरबाट बजार जानु पर्छ जाँदा आउँदा पुलको बिचमा केटाहरु हुन्छन जिस्क्याउछन, पुल हल्लाइदिन्छ्न छुन खोज्छन केहि भनौ भने डर लाग्छ नभनौ भने जहिले पनि यस्तै गर्छन पर्बत बगरबाट स्कुल आउने एक छात्राले भनिन ।”
माथिका यी अभिव्यक्ति केहि मात्रै हुन् कक्षा ६ देखि ९ सम्मका छात्राहरुले आफ्ना र आफ्ना साथीका, आफुले देखेका कुराहरु भनिरहदा कार्यक्रममा सहभागी भएका धेरैका आँखा रसाएका थिए भने उनीहरु खुलेर यसरी आफ्ना समस्याहरु पीडाहरु भन्न सकेकोमा कार्यक्रमको संयोजन गरिरहेका शिक्षक कृष्ण जिसी र अबधारणा ल्याउनु भएका प्रिन्सिपल बिना झा अचम्मित भएका थिए ।

बिहिबार वेष्ट पोइन्ट अडिटोरिएममा आयोजना गरिएको कार्यक्रम “मलाइ पनि केहि कुरा भन्नु छ” भन्ने अभियान कार्यक्रमा छात्राहरुले यस्ता कुरा गरेका हुन् । सामान्यता स्कुले केटाकेटीहरु जो कक्षा ६ – ८ मा पढ्छन उनीहरुको शारीरिक मानसिक विकास तिब्र हुने अबस्था हो । यस अबस्थामा उनीहरुमा चंचलेपना हुने गर्दछ । उनीहरुमा आउने यस्ता परिबर्तनलाई उनीहरुले सजिलै बुझ्न सक्दैनन् । यस्तै अबस्थामा छात्रा÷केटीहरु बढी यौनजन्य शिकार हुने गर्दछन र भैरहेका पनि हुन्छन तर भन्न सक्दैनन् ।

कसलाई भन्न, कसरि भन्ने अन्यौलमा हुन्छन । कसैले आफुलाई अफ्ठ्यारो लाग्ने कुरा गर्ने अनौठा र पचाउन नसकिने कुरा गरेमा छुने प्रयास गरेमा त्यसलाई प्रतिकार गर्ने क्षमताको बिकास नभएको अबस्थामा सधै शिकार भै रहनु पर्दछ त्यसैले “मलाइ पनि केहि कुरा भन्नु छ” नामक कार्यक्रमको आयोजना गरेर उनीहरुका आफ्नै साथीहरुले भोगेका समाजमा रहेका अन्य व्यक्तिका कुरा खुलेर भन्न सकेका हुन् ।

दिनानुदिन विद्यालयहरुमा हुने यौन जन्य अपराधका घटना मिडियामा आइरहेका छन् । शुरुमै उनीहरुले आफ्ना कुरा भन्न सके भने यस्ता घटना हुन पाउदैनन त्यसैले यो अभियानको शुरुवात गरिएको हो । डर र लाजका कारण बेइजत हुन्छ कि भन्ने त्रासले गर्दा आफ्नो उकुस्मुकुसतालाई दबाएर राख्ने गर्दछन । भन्न सक्दैनन् तर पछी डरलाग्दो घटना हुन सक्दछ त्यसैले आफ्ना हरेक कुरा भन्न सकुन भन्ने उदेश्यले यो अभियान थालिएको हो । बिद्यालयमा युवा शिक्षकहरुको एक क्लब छ “द मिलिसिया ब्रदरहुड” जसले यो अभियानको संयोजन गरेको हो ।

“अब यो अभियानलाई हामी अन्य बिद्यालयमा पनि लिएर जान्छौं । हामी जस्तै हाम्रै उमेर समुहका साथीहरुका पनि विभिन्न समस्या हुन सक्दछन उनीहरुले ब्यक्त गर्न नसकेका हुन सक्दछन त्यसैले उनिहरुका कुरा पनि सुन्छौं बोल्न लगाउछौं भन्न लगाउछौ” यस अभियानका छात्राले बताएका छन ।

प्रिन्सिपल बिना झाले भन्नु भयो “ म तिमीहरुको आमा हुँ, म साहसी छु बलवान छु जस्तो लाग्छ भने त्यसैले मेरा छोरीहरु पनि त्यस्तै हुनुपर्छ । तिमीहरु अब अरुको साथी बन्नु पर्दछ बोल्न सक्ने बनाउनु पर्दछ ।”

शिक्षक कृष्ण जिसीले “बिद्यालय सबैभन्दा बढी यौन जन्य अपराध हुने क्षेत्र हो । जहाँ सबैभन्दा बढी किशोर किशोरी हुने गर्दछन् आफ्नै साथीहरुबाट, आफूभन्दा माथिल्लो कक्षाका साथीहरुबाट शिक्षक शिक्षिकाहरुबाट कर्मचारीहरुबाट प्रत्यक्ष अप्रत्यक्ष नियतबस अन्जानमै किशोर किशोरीहरुलाई असहज लाग्ने क्रियाकलाप हुन सक्छन त्यसबाट सबै सजग बन्नु पर्दछ । आफुलाई असहज लाग्ने यस्ता कुरा भन्नु पर्दछ, भन्न सक्ने बनाउनु पर्दछ । यस्ता बिषयमा बोल्न प्राय डर, लाज लाग्ने असहज महसुस गर्ने कारणले त्यति सजिलै खुल्दैनन अनि साथि समूह बनाएर उनीहरु मार्फत पनि भन्न लगाउन सकिन्छ ।” आफुले इक्वेल एक्सेस नेपालको “साथी संग मनका कुरा” रेडियो कार्यक्रमको धौलागिरीको रिपोर्टर र थुप्रै कार्यक्रम उत्पादन गरेकोले आफु संग यस बिषयको अनुभव भएको र यस्ता कुरामा सम्बेदनशील हुनु पर्ने जिसीले बताए ।

शिक्षिका देबी जिसीले आफुले पनि बाल्यकालमा आफुलाई गरेको त्यस्तै असहज व्यवहार र पछि बुझ्दा त्यसको आशय फरक हुने रहेछ भनेर आफ्ना कुरा ब्यक्त गरिन । उनले भनिन् “त्यतिबेला यस्तो कुरा भन्न डर लाग्थ्यो तर अहिले यस्ता अभियान शुरु भए पछी घर परिवार समाजमा हुने त्यस्ता ब्यबहारको बिरुद्द आवाज उठाउनु पर्छ बोल्नु पर्द्छ जसका लागि यो अभियानले सहयोग गर्नेछ ।”

“मलाइ पनि केहि भन्नु छ” यो अभियान छात्राहरुको समूह हरेक बिद्यालयमा पुग्ने र साथी समूह बनाइ समस्या असहजताहरु ब्यक्त गर्न सक्ने बनाउने उदेश्य रहेको वेष्ट पोइन्ट मिडिया हबका संयोजक कृष्ण जिसीले बताए ।