जेसीजकप फुटवलको उपाधी वेस्ट पोइन्टले चुम्यो

१७ औँ अन्तर मावि जिल्ला स्तरीय जेसीज कप फुटवल प्रतियोगिता न्यू वेस्ट पोइन्ट आवासीय माविले उपाधी चुमेको छ । सदरमुकाम बेनीको खुल्लामञ्चमा शनिबार सम्पन्न भएको फाइनल खेलमा मालिका गाउँपालिकको दरबाङमा अवस्थित केवी एकेडेमीलाई ४–० गोलले हराउँदै वेस्ट पोइन्टले जेसीज कपको इतिहासमै तेस्रोपटक उपाधीमा कब्जा जमाएको छ ।

प्रतियोगितामा उपाधीको दावेदार मानिएका विद्यालयलाई पन्छाउँदै पहिलोपटक सदरमुकाम बाहिरबाट फाइनलसम्म पुगेको केवीका खेलाडीले उपाधीका लागी गरेका प्रयासहरु असफल भएसंगै उपविजेतामा सिमित भएका छन् । घरेलु मैदान, नियमित अभ्यास र ब्यवसायीक खेलाडीहरूसंग समेत खेलमा सहभागी डिफेन्डिङ च्याम्पिएन समेत रहेको वेस्ट पोइन्टका खेलाडीको खेल रणनीतिले उपाधी जित्न सहज भएको थियो ।

विद्यालयस्तरमा लोकप्रिय मानिने प्रतियोगितामा वेस्ट पोइन्टको तर्फबाट मनिष श्रेष्ठले २, लेलिस गर्बुजा र अनिश केसीले १–१ गोल गरेका थिए । जेसीजकपको पुरानो इतिहासलाई पल्टाउदाँ सबैभन्दा अभागी टिम मानिने वेस्ट पोइन्टले ११ पटकसम्म उपविजेता बनेको थियो । प्रतियोगितामा उत्कृष्ट प्रशिक्षक समेत घोषित भएका राईसंग खेलमैदानबाट गोलरक्षक देखि सबैजसो खेलाडीलाई आफ्नो आँखाको संकेतबाट रणनीति परिवर्तन गराउने कलाको समेत सर्वत्र चर्चा हुने गर्दछ ।

प्रतियोगितामा प्रतिनिधिसभाका सदस्य भुपेन्द्र बहादुर थापाले नगद, ट्रर्फी र प्रमाणपत्रले सम्मान गरेका थिए । प्रतियोगितामा प्रथम, द्धितिय हुने विद्यालयलाई क्रमश नगद रु ४० हजार, २५ हजारको साथमा कप, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि थापाले जिल्लामा हुने खेलकुद प्रतियोगिताले प्रतिभाको पहिचान गर्न सजिलो हुने बताए ।पुरस्कार वितरणका कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र बहादुर कटुवाल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा, म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेश कुमार श्रेष्ठ, नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष धनन्जय कुमार श्रेष्ठ, म्याग्दी जेसीजका अध्यक्ष कमल विश्वकर्माले सम्मान गरेका थिए ।

प्रतियोगिताको समापना कार्यक्रममा महेन्द्ररत्न मावि बरंजालाई अनुशासित टिम, उत्कृष्ट खेलाडी केवी एकेडेमीका नारायण प्रकाश पुन,सर्वाधिक गोलकर्ता न्यू वेस्ट पोइन्टका मनिश श्रेष्ठ,उत्कृष्ट गोलरक्षक सञ्जन बराईली, उत्कृष्ट स्टाइकर मनिष श्रेष्ठ, उत्कृष्ट मिडफिल्डर वेस्ट पोइन्टकै टिपेन पुन, उत्कृष्ट डिफेन्डर केवीका फविन पुन, राईजिङ खेलाडी केवी एकेडेमीकै ओमकार पुन र उत्कृष्ट प्रशिक्षक वेस्ट पोइन्टका दिपेन राई घोषित भएका थिए ।

प्रतियोगिता अगाडी दुवै समुहका क्याप्टेन सहितको उपस्थितीमा पत्रकार सम्मेलन सहितका राष्ट्रिय, अन्त्राष्ट्रिय फुटबल खेलको अभ्यासलाई समेत प्रयोग गरिएको थियो । प्रतियोगितामा १६ विद्यालयको सहभागिता रहेको थियो ।