म्याग्दीमा प्राङ्गारिक मलको प्रयोग बढ्दै

0

म्याग्दीको मंगला गाउँपालिकामा प्राङ्गारिक मल उत्पादन केन्द्र स्थापना गरिएपछि युवाहरु आकर्षित बनेका छन् । स्वदेशमै काम गर्न सक्ने उदाहरण बनेका युवाले आफ्नै जिल्ला र पोखरालाई प्राङ्गारिक मलको बजार बनाएका छन् ।तेजेन्द्र आचार्य, भबिलाल सुबेदी र दलबहादुर नेपाली यतिवेला प्राङ्गारिक मलको उत्पादनमा लागेका छन् । एकातिर रासायनीक मलको विगविगी रोक्न अर्कोतर्फ फोहोर व्यवस्थापनमा सहयोग पुग्ने भएपछि तीन युवा उत्साहित बनेका छन् ।

सामुदायिक बनमा फैलिएको बनमारा, बजार क्षेत्रबाट सङ्कलन गरिएको सड्ने फोहोर, पात–पतिंगर लगायत खेर गएका कच्चा पदार्थ संकलन गरी कम्पोष्ट मल बनाइन्छ । गतबर्ष जेठ महिनाको अन्तिम साता स्थापना गरिएको प्राङ्गारिक मल उद्योग स्थापना गरिएको हो । अहिले परीक्षणका रुपमा उद्योग सञ्चालन भइरहेको छ । बढ्दो मागका कारण उनीहरु उत्साहित छन् ।बनजंगलमा रासायनिक मल प्रयोग नभएको माटो, धानको भुस र कोइलाको प्रयोग गरी अस्टे«लियामा प्रयोग हुने सास्गा प्रविधिको प्रयोग गरिन्छ ।

उद्योगले एकहप्तामा दुई क्लिन्टलसम्म मल उत्पादन गर्ने गरेको छ । बनमाराको मलको माग धेरै रहेको छ । बनमाराको प्रयोग गरिएमा विरुवामा रोग लाग्दैन । परीक्षणकालमा जिल्लाभित्र ५ क्विन्टल र पोखरामा ५ क्विन्टल मल बिक्री भएको थियो । १ क्लिन्टल मललाई २५ सय देखी ३ हजारसम्ममा विक्री हुने गरेको छ ।गाउँपालिकाभित्र अर्गानिक खेतीमा किसानलाई आर्कषित गराउन गतबर्ष पहिलो चरणमा ४० कृषकलाई तालिम दिइएको थियो । अहिले उद्योगसंग १५ जनाको टोली छ । बनमा खेर गएको बनमाराको प्रयोग र प्राङगारिक मलले बाली सप्रने भएकाले किसान पनि उत्साहित छन् ।