बागलुङ नगरपालिका वडा नम्बर १ खनियाघाटमा बधशालाको समस्या रहेको छ । बधशाला व्यवस्थित नहुँदा आसपासमा दुर्गन्ध फैलिदै गएको छ । जसका कारण मानव स्वास्थ्यमा नै प्रतिकुल असर पर्न थालेको छ ।कालिगण्डकी नदी माथि रहेको अव्यवस्थित बधशालाबाट निस्किने दुर्गन्ध मालढुंगादेखि बागलुङ सदरमुकाम आउने सडकसम्म फैलिने गर्छ । मासु काटेर जथाभावी फाल्ने प्रवृत्ति पनि बढ्दै गएको छ । व्यवस्थित बधशाला निर्माणका लागि स्थानीयले पटक–पटक आग्रह गरेपनि सरोकारवाला निकायले वास्तै गर्ने गरेको छैन । एकातिर मासु व्यवसायीको मनोमानी अर्कोतर्फ नियमक निकायको उदासिनताले बागलुङ खनियाघाटका स्थानीय प्रभावित बनेका छन् ।

बधशालाको अव्यवस्थाले स्वास्थ्यमा प्रतिकुल असर पार्ने चिन्ता त स्थानीयमा छदैछ भने आवतजावत गर्नसम्म कठिन हुने गरेको छ । बधशालाको सामान्य सफाईमा पनि व्यवसायीले ध्यान पु¥याउन सकेका छैनन् ।बधशालाको अव्यवस्थाको मार सबैभन्दा बढी पोखरा–बागलुङ सडक निर्माणका क्रममा विस्थापित बनेका १४ माझी परिवार प्रभावित बनेका छन् । आर्थिक बर्ष २०७२/७३ मा पशुपंक्षी विकास मन्त्रालयको सहयोगमा मासु व्यवसायी बाबुलाल शाक्य र राहुल बोहोराले १० रोपनी जग्गा लिजमा लिएर बधस्थल निर्माण गरे पनि अहिले बन्द छ । बिजुली र पानीको अभाव भएपछि बधशाला बन्द भएको थियो । मासु व्यवसायीले पनि बधस्थलमा मासु काट्दा तिर्नुपर्ने भाडा महंगो भएको भन्दै खुला रुपमा काट्ने गरेका छन् ।

व्यवसायीको लापरवाही र स्थानीय तहले उचित व्यवस्थापन गर्न नसक्दा मालढुंगा हुदैँ बागलुङ भित्रने पर्यटकलाई समेत सास्ती हुने गरेको छ । अव्यवस्थित बधशालाकै कारण बृद्धबृद्धा र बालवालिकामा श्वास–प्रश्वास समस्या, शरीर चिलाउने जस्ता समस्या देखिने गरेको छ । स्थानीयको स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरी संचालन भएका बधशालाको तत्काल व्यवस्थापन हुनु आवश्यक छ ।